स्वास्थ्य सामाग्री लिन चीनको छोङछिङ उड्यो हिमालय एअरलाइन्स्

आर्थिक सञ्जाल २०७७ वैशाख २६ गते शुक्रबार
काठमाडौँ । चीनका गन्तव्यहरु ग्वान्झाउ र चाङ्शामा विगत दुई हप्ताभित्र चार वटा सफल कार्गो उडान पश्चात हिमालय एअरलाइन्स्ले यस महिना चीनका विभिन्न गन्तव्य शहरहरु केन्द्रित केही थप कार्गो चार्टर संचालन गर्न लागिरहेको छ ।
यस अवधिमा तेस्रो गन्तव्य शहरको रुपमा छोङ्छिङ्मा यस एअरलाइन्स्ले मे ८ र ९ तारिख दुई वटा उडानहरु संचालन गर्दैछ । यी दुवै उडानहरुले कोभिड -१९ रोगको नियन्त्रण र रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु ढुवानी गर्नेछन् । बेइजिङ्गमा नियमित यात्रु उडान संचालन पश्चात यस एअरलाइन्स्ले २३ जनवरी २०२० मा छोङ्छिङ्लाई चीनको पाचौँ गन्तव्य बनाई प्रति हप्ता एक सिधा उडान मार्फत नियमित हवाई सम्पर्क स्थापना गरेको थियो ।
आज साँझ १७ः०१ बजे एअरबस ३२०-२१४, ९एन–एएलडब्लू कार्गाे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट प्रस्थान गरेको र २३ः२५ बजे (स्थानीय समय) छोङ्छिङ् जियाङ्गबे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । विमान भोलि ०४ः३५ बजे (स्थानीय समय) मा स्वास्थ्य सामाग्रीहरु सहित उड्ने र काठमाडौँमा ०६ः३० बजे आगमन हुने तालिका रहेको छ ।
“मुलुकमा कोभिड -१९ का बिरामीहरु वृद्घि भई अनिवार्य स्वास्थ्य सामाग्रीहरुको आवश्यकता बढ्दै गएको सन्दर्भमा कार्गो चार्टर उडानहरुको माग वृद्घि भएको र यस महिना चीनका विभिन्न शहरहरुमा थप चार्टर उडानहरुको सम्झौता गर्न सफल भएकोमा हामी खुसी छौ ।
छोङ्छिङ् हाम्रो चीनको प्रमुख गन्तव्यहरुमध्ये एक हो जहाँ हामीले कोभिड ( १९ महामारीको रुपमा फैलिनु अघि उडान शुरुवात गरेका थियौ । हामी यस गन्तव्यमा पुनः जोडिन आतुर छौ यद्यपि हालका लागि कार्गो उडान मार्फत मात्र जोडिदै छौ ।
हिमालय एअरलाइन्स् अत्यावश्यक आपूर्ति प्रणालीलाई कायम राख्ने सिलसिलामा राष्ट्रको बढ्दो आवश्यकताहरुलाई पूरा गर्र्ने कार्य तर्फ सबै सरोकारवालाहरुलाई सहयोग पु¥याउन प्रतिबद्घ छ ।” हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले यस उडानका विषयमा टिप्पणी गर्दै भने ।
उडानमा सरिक चालक दलले नेपाल सरकारको निर्देशन अनुरुप पालना गनुपर्ने आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अबलम्बन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौँबाट प्रस्थान गरेको हो । उक्त कार्गो विमानले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९औषधिजन्य सामाग्री ल्याउनेछ ।