stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेलम्ची खानेपानीको सुन्दरीजलमा काम जारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार

सिन्धुपाल्चाेक । बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल साइड हेर्ने इञ्जीनियर रामजी लामिछानेले राससलाई जानकारी दिनुभयो । आयोजनामा २८ जना कामदारले नियमित काम गरिरहेका छन् ।

सुन्दरीजलमा भइरहेको कामको नियमितरूपमा अनुगमन एवं मूल्याङ्कन समेत भइरहेको उहाँले बताउनुभयो । बिहीबार मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, निर्माण कम्पनी सिनो हाइड्रो र परामर्शदाता कम्पनी इप्तिसाका प्रतिनिधिबीच सुन्दरीजलका कामको स्थलगत अनुगमनपछि अझ गतिका साथ काम अघि बढाउने विषयमा सहमति भएको थियो । एक महीनामा सुन्दरीजलको काम सक्ने सहमति छ ।

सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । उति नै क्षमताको अर्को संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । एक महिनामा सुन्दरीजलको प्रशोधन केन्द्रको काम पनि सक्ने गरी काम भइरहेको जनाइएको छ । असार मसान्तसम्म मेलम्ची खोलाको दैनिक १७ करोड ७० लाख लिटर पानी सुन्दरीजलमा झार्ने आयोजनाको लक्ष्य छ । पानी झरेपछि सुन्दरीजलका दुई प्रशोधन केन्द्रमा परीक्षण गरी उपत्यकामा वितरण गरिने छ ।

पानी वितरणका लागि पहिलो चरणको सञ्जाल उपत्यकाभर निर्माण भइसकेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । सञ्जाल निर्माणमा दोस्रो चरणको काम पनि भइरहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहान क्षेत्रमा हेडवक्र्सको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए । बन्दाबन्दीमा पनि सुरक्षाका सबै विधि अपनाएर आयोजनाको काम भइरहेको छ । सुन्दरीजल र मेलम्ची दुवैतिर काम गर्ने कामदारलाई कार्यस्थलमै आवासीयरूपमा बस्ने व्यवस्था निर्माण कम्पनी सिनो हाइड्रोले गरेको छ ।

मेलम्चीबाट काठमाडौँको सुन्दरीजलसम्म करिब २७ किमीको सुरुङ तयार भइसकेको छ । सुरुङभित्र फिनिसिङको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । बन्दाबन्दीले काममा केही प्रभाव परे पनि असारको आसपासमा पानी ल्याउने आयोजनाको लक्ष्य जारी छ । यसअघि विसं २०७३ देखि पटकपटक मेलम्चीको पानी राजधानीमा ल्याउने मिति सारिँदै आएको छ । रासस

prabhu mahalaxmi
kumari