कोरोनाको औषधि नेपालमै बनाइसकेको त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको दाबी

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार
हेटौंडा । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधि निर्माण गरेको दाबी गरेको राससले समाचार लेखेको छ ।
भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो क्यामेष्ट्रिमा पीएचडी उपाधि हासिल गरेका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जिमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधि तयार गरेको जानकारी दिए ।
वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदैै डा. दासले सरोकारवालासँग सहयोगको आह्वान समेत गरेका छन् । कोरोना भाइरसको औषधि निर्माण गर्न कडा मेहेनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दाबी पनि उनले गरे ।
यस अघि उनले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर पनि बनाएका थिए । अध्ययन संस्थानका प्रमुख विजय यादव लगायतका वैज्ञानिक र रसायनविज्ञहरूले उनले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारीसमेत लिएका छन् ।
चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा कोरोनाको उपचार पद्धति र औषधिको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधिको थप परीक्षण हुन भने बाँकी नै छ ।
नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य संगठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्नेछ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा. दास वाग्मती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुन् । रासस