बढी मूल्य असुल्ने भाटभटेनीलाई तीन लाख जरिवाना, सक्रियता अझ बढाउँदै विभाग

आर्थिक सञ्जाल २०७७ वैशाख १६ गते मंगलबार
काठमाडौं । देशकै ठुलो सुपर मार्केट भाटभटेनीलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । लकडाउनका बेला एमआरपीभन्दा बढी मूल्य लिएको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टंगालस्थित सुपर मार्केटलाई सो जरिवाना गरेको हो ।
लाखामरी खरीद मूल्य(एमआरपी) भन्दा बढी मूल्य लिएको सुपर मार्केटलाई तीन लाख जरिवाना गरिएको हो । खरीद मूल्य प्रतिगोटा १२० रहेकामा भाटभटेनीले २२० लिएको पाएपछि कारवाही गरिएको हो ।
आफ्नै मूल्य टाँसेर अत्यधिक पैसा असुल्दै आएको चौतर्फी गुनासोपछि अनुगमनमा खटिएको विभागको टोलीले बढी मूल्य लिएको भेटाएको थियो ।
सङ्कटकालीन अवस्थामा मौकाको फाइदा उठाउनेमा स-साना मात्रै होइन, ठुलै उद्योगी, व्यापारीसमेत रहेका छन् । यसैको पछिल्लो उदाहरण हो भाटभटेनी सुपर मार्केट ।
विश्वव्यापी महामारीमा चौतर्फी सहायता र सहयोगी भावनाले काम गर्न सरकारले आग्रह गरिरहँदा भाटभटेनीको यो कुकृत्यको जति निन्दा गरे पनि कमै हुन्छ ।
लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनी लगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।