stcnepal long ad
global ime bank long

मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी हो : राष्ट्रपति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख १, २०७७ सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले यस धर्तीमा आज कोरोनाभाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमणबाट प्रभावित भई जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
सन् २०१९ को अन्त्यतिर विश्वव्यापी महामारीको रूप लिएको नोबल कोरोनाभाइरस (कोभिड—१९) को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएको जनाउँदै उहाँले अब हाम्रो अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्नका लागि यहाँका आन्तरिक स्रोत उर्वर भूमि, जलसम्पदा, वनजङ्गल र जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु हाम्रो गहन दायित्व हुन आएको औँल्याउनुभएको छ ।
“नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर भएसँगै विकासका प्रयास तीव्रताका साथ अगाडि बढेका छन् ।

गत वर्ष हामीले महत्वपूर्ण आर्थिक वृद्धि हासिल गर्न सफल भयौँ । विनाशकारी भूकम्पले भत्काएका निजी आवास तथा ऐतिहासिक र सां‌स्कृतिक सम्पदाहरूको पुनर्निर्माणमा सफलता हासिल भएको छ । राष्ट्रव्यापी सडक सञ्जाल निर्माणमा निरन्तरता, विभिन्न जलविद्युत् परियोजनाहरू सम्पन्न हुने क्रमले यस वर्ष हाम्रो राष्ट्रिय आय र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिरहेकै बेला हामी विश्वव्यापी महामारीको चपेटामा परेका छौंँ ”, सन्देशमा भनिएको छ ।
कोरोनाभाइरस सिर्जित यस विपद्मा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको बताउँदै राष्ट्रपतिले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
महामारीको संक्रमण रोक्ने उपायका रूपमा अवलम्बन गरिएको ‘लकडाउन’का कारण यसपटक नयाँ वर्ष मनाउने र हर्षोल्लास आदानप्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले नयाँ वर्षले राष्ट्रमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । रासस

IME Lifesidebar
kumari