लकडाउन उल्लघंन गर्ने २६८५ जना नियन्त्रणमा
आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार
काठमाडौ । काठमाडौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ६ सय ५९ महिला सहित २६ सय ८५ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।
यसै गरी २ सय ९७ वटा दुई पाङ्ग्रे र २४ वटा चार पाङग्रे गरी ३ सय २१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौबाट सबैभन्दा बढि २१ सय ५७ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ४ सय ८० र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गर्नु भयो ।