नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त
काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी मा बढुवा गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले सिंहलाई आइजिपी नियुक्त गरेको हो ।
पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्वको सरकारले दरबन्दी थप गरेर आइजिपीको रोल क्रममा ल्याउने गरी एकल बढुवा गरेर एआईजी बनाएको थियो । तर शेरबहादुर देउवा नेतृत्वको सरकारले सिंहलाई राजेको हो । प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने भनिएको छ ।
तर ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य लगायतलाई आधार बनाएर निर्णय लिने भनिएको छ ।
हालका आइजिपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरूले ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि अवकाश पाउँदै छन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।
२०२४ सालमा दैलेखको विजौरामा जन्मिएका सिंह ३० वर्षे सेवा अवधि कायमै रहेको अवस्थामा अब एक वर्ष प्रहरी सङ्गठन चलाउने छन् ।
प्रहरी नायब महानिरीक्षक(डिआइजी) छँदा मधेस प्रदेश र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व गरेका सिंहले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय)को नेतृत्व गरेका थिए ।

























