नेपाल बैङ्कर्स सङ्घले अति अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ।
आइतबार बसेको सङ्घको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो। बैङ्कर्स सङ्घका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आज बसेको बैठकले गाडी, सुनचाँदीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी तत्काल नखोल्ने निर्णय भएको जानकारी दिनुभयो।
उहाँका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशन अनुसार सङ्घले सो निर्णय गरेको हो। सङ्घले निजी गाडी, चिनी, चकलेट, चुइगम, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्र्युम, काठका सामग्री, मोबाइललगायत सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो।
यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै विभिन्न ४७ वटा वस्तुको आयातमा ५० प्रतिशतदेखि शत्प्रतिशत मार्जिनको व्यवस्था लागू गरेको थियो। यस्तैगरी, गत सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० लाई बोलाएर गाडी लगायतका वस्तु आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो। राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंकले गाडी लगायतका वस्तुको एलसी खोल्न बन्द गरिसकेका छन्।
ब्याज नबढाउने सहमति
आज बसेको सङ्घले बैठकले आगामी वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ। बैङ्कर्सबीच ब्याज नबढाउने निर्णय भएसँगै अब ११.०३ प्रतिशतको ब्याजले निरन्तरता पाउनेछ।
























