stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव सम्पन्न

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्‍घाटन गर्नुभयो ।

साथै उहाँले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण समेत गर्नुभयो ।

अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७८’ र Nepal Medical Journal को समेत उहाँले लोकार्पण गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको सेवा प्रवाहमा अविश्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्नुहुने प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गर्नुभयो ।

साथै भिजिटिङ कन्सल्टेन्ट डा। विकल घिमिरे तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र संघ संस्थालाई प्रशंसापत्र एवम् कार्य सम्पादन र सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत अर्थोपेडिक विभागलाई शिल्ड तथा प्रशंसापत्र र अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत उहाँले प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकहरुले निर्वाह गरेको योगदानको प्रशंसा गर्नुभयो । साथै कोभिड–१९ को संक्रमणका समयमा नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आगामी दिनमा नेपाल प्रहरी अस्पतालबाट प्रवाह हुने सेवा अझै उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी अस्पतालको विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र अस्पतालको दीर्घकालीन विकासका लागि प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष सिर्जना थापाले Combo ultrasound TENS and IFT Physiotherapy Machine अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । साथै संघकी अध्यक्ष तथा संघका पदाधिकारीहरुले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गर्नुभएको थियो ।

समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नेपाल प्रहरी अस्पताल सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।

नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. रामकृष्ण राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छायाँ देवी गुरूङले स्त्री तथा प्रसुती सेवा सम्बन्धी प्रस्तुतीकरण तथा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari