नेपाल एयरलाइन्स: विपद्को उडान सारथी बन्दै

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार
काठमाडौँ । नेपाली समाजमा एक सुपरिचित उखान छ– ‘टाढाको देउताभन्दा करेसाको भूत काम लाग्छ’ । यतिखेर यस उखानलाई चरितार्थ गरिदिएको छ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ।
विगतमा देश विपत्तिमा परेका बेलाजस्तै हालको ‘कोभिड १९’ महामारीमा पनि निगमकै जहाजले सेवा दिइरहेका छन् । त्यसो त राष्ट्रप्रमुख तथा सरकार प्रमुखका विदेशी राजकीय भ्रमणमा पनि निगमको सेवा उल्लेखनीय रही आएकै छ । त्यसैले पनि राष्ट्रिय ध्वजावाहकको यो सेवालाई समय समयमा नेपालीहरुले ‘आफ्नो भनेको आफ्नै हुन्छ’ भनेर प्रशंसा गर्ने गरेका छन् ।
कोभिड–१९ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणले अहिले विश्व नै आक्रान्त छ । त्यस महामारीबाट हाम्रो देश नेपाल पनि मुक्त रहन सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपाल पनि त्यसको जोखिममा रहेको घोषणा गरेपछि नेपाल सरकारले पनि यही चैत ११ देखि देशभर ‘लकडाउन’ घोषणा गरेको छ ।
त्यस कारण अहिले मलुकका आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान ठप्प छन् । तर नेपालमा विदेशी नागरिकको उद्धार होस् या मेडिकल सामग्री लगायत आपत्कालीन सामग्रीको स्वदेश तथा विदेशबाट आपूर्तिको जोहो नेपाल एयरलान्सका विमानबाट नै भइरहेको छ । शुक्रबार र शनिबार दिनभर जसो नेपालको आकासमा जहाज उडे ।
लुक्ला, पोखरा, जोमसोम लगायत गन्तब्यबाट विदेशी पर्यटकको उद्धारमा ती जहाज प्रयोग भएका थिए । देश लकडाउनको अवस्थामा रहेको र सबै नागरिक घरमै रहेका बेला निगमका जहाज भने राष्ट्रिय विपत्तिको असल सारथी बनेका छन् ।
निगमको वाइडबडी ३३० जहाजले यसै मेसोमा आइतबार चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ । ती महामारीका बेला अत्यावश्यक स्वास्थ्य सामग्री हुन् ।
निगमका अपरेशन विभाग प्रमुख दीपु ज्वारचन देशलाई आइपरेको विपत्तिको समयमा होस् वा राष्ट्रप्रमुखको विशिष्ट भ्रमणमा निगमका जहाज प्रयोग हुँदै आएको र यसलाई निगमको दायित्व र जिम्मेवारीका रुपमा लिएको बताउँछन् । उनी भनछन्, “अहिले कोभिड– १९ को महामारीले विश्व नै सङ्कटग्रस्त अवस्थामा छ, यस्तो परिस्थितमा पनि निगमको साथ, भूमिका र दायित्व थप बढेको छ, यस्तो समयाको सेवाले राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रियरुपमै निगमको साख बढाएको छ ।
” वाइडबडी अष्ट्रेलिया र श्रीलङ्का जाँदै निगमको यतिखेर विदेशबाट स्वास्थ्य सामग्री ल्याउने, नेपालका नागरिकलाई उद्धार उडानबाट सम्बन्धित मुलुकमा लैजाने महत्वपूर्ण जिम्मेवारी आइपरेको छ । निगमले अत्यावश्यक सामग्रीका लागि कार्गो उडान मात्र नभई चीनका विभिन्न गन्तब्य तथा अष्ट्रेलियामा समेत निगमको चार्टर्ड उडान गर्ने तयारी गरिएको प्रमुख ज्वारचनले जानकारी दिनुभयो ।
निगमको उडान सेडुअल अनुसार वाइडबडी जहाज आगामी अप्रिल १ तारिखमा अष्ट्रेलिया र २ तारिखका दिन चीनको ग्वाङ्जाओ उडाउने तयारी भइरहेको छ । यी दुवै गन्तब्यमा निगमले सम्बन्धित मुलुकको आग्रहमा चार्टर्ड उडान गर्न लागेको हो । त्यस्तै श्रीलङ्कामा पनि निगको वाइडबडी जहाज पठाइने जनाइएको छ ।
विदेशी नागरिकको उद्धारमा समेत निगमको दायित्व बढेको छ । अहिले दैनिकजसो उद्धार उडान भइरहेको छ भने विदेशीलाई उनीहरुको मुलुकमा लगिदिने जिम्मेवारी पनि निगमलाई थपिएको छ । “अहिले हामी असाध्यै कामको चापमा छौँ, सामान्य अवस्थामा भन्दा अहिले धेरै व्यवस्तता बढेको छ ।
उद्धार उडानका लागि सम्बन्धित मुलुकबाट उडान अनुमतिका लागि पहल र ती मुलुकमा जहाज पु¥याएर ल्याउनु कम चुनौतीपूर्ण जिम्मेवारी हैन”, प्रमुख ज्वारचनले भने । वि.सं २०७२ मा भारतले गरेको नाकाबन्दीका बेला निगमले आपत्कालीन तथा उद्धार उडान गरेको थियो । त्यस बखत निगमले करिब दुई महिना भारतको कोलकोत्ताबाट हवाई इन्धन ल्याएर आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा सहयोग गरेको थियो । सो समयमा पनि निगमको भूमिकाको उच्च प्रशंसा भएको थियो ।
वि.सं २०७६ वैशाख ११ गते राष्ट्रपतिद्वारा भएको चीनको राजकीय भ्रमणमा नेपाल एयरलाइन्सको न्यारोबडी जहाज प्रयोग गरिएको थियो । वैशाखको अन्तिम साता प्रधानमन्त्रीबाट भएको म्यान्मा, कम्बोडिया भ्रमणका बेला पनि निगमको जहाज प्रयोग गरिएको थियो । प्रधानमन्त्री निगमको नियमित उडानबाटै भ्रमणमा गएका थिए ।
पछिल्लो परिवर्तित राजनीतिक परिस्थितमा मात्र नभई विगतका शासन व्यवस्थामा पनि निगमकै जहाज देशका प्रमुखको भ्रमणताका प्रयोग गरिन्थ्यो । तत्कालीन राजा वीरेन्द्रले पनि विशिष्ट भ्रमणका बेला निगमको जहाज प्रयोग गरेका थिए । राज्यको प्रवद्र्धनमा दायित्व बढ्यो हुनत राष्ट्रिय ध्वजावाहकमा राज्यको लगानी हुने भएकाले आवश्यक परेकाबेला सरकारलाई सहयोग गर्नु स्वभाविक पनि हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरले राज्यको लगानीको राष्ट्रिय ध्वजावाहकले सरकारलाई आवश्यक पर्दा सहयोग गर्नु उसको दायित्व भएको बताए । उनले भन्, “निगम सरकारी ध्वजावाहक भएकाले राज्यले संरक्षण गर्नुपर्छ भनेर यस्तै आपत्विपद्का घटनाले पुष्टि गरेको छ, राज्यको हरेक आवश्यकतामा निगमकै जहाज प्रयोग हुने भएकाले यसलाई संरक्षण गरी सबल बनाउन पनि सरकारको दायित्व हो ।
” पूर्व महानिर्देशक मानन्धरका अनुसार नेपालका मात्र नभई अन्य मुलुकका ध्वजावाहक पनि जस्तोसुकै अवस्थामा उपयोगी हुने गरेका छन् । छिमेकी मुलुक भारतको एयर इण्डिया मात्र नभई मध्यपूर्वी एशियाली मुलुकका कतिपय देशका ध्वजाबाहकको उदाहरणलाई लिन सकिन्छ ।
निकै धराशयी अवस्थामा पुगेका कम्पनीलाई पनि सरकारले संरक्षण गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काले देश विपत्तिमा परेका बेला निगम जहिले पनि सरकारको सारथी बन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै यो सेवा दायित्व पनि भएको बताए । संस्थागतरुपमा निगमको आर्थिक भार बढेकाले निगमको संरक्षण प्रवद्र्धनमा सरकारको पनि दायित्व भएको उनको भनाइ छ । निगमका एक उच्च अधिकारीका अनुसार अहिले निगमको नगद प्रवाह कमजोर भएको अवस्थामा सरकारको आर्थिक सहयोग भइदिए
निगमलाई आगामी दिन अझ समृद्ध र प्रभावकारी बनाउन सहयोग पुग्नेछ । देशमा विभिन्न समयमा आइपर्ने अप्ठ्यारो अवस्थामा अन्तरराष्ट्रिय मात्र होइन आन्तरिक उडानमा पनि निगमकै भरथेग छ । निगमको उड्डयन इतिहास नेपाल वायु सेवा निगमले आफ्नो स्थापनाको ६० वर्षको इतिहासमा पहिलोपटक वाइडबडी जहाज भित्र्याएर लामो गन्तव्यमा उडान भरिरहेको छ ।
अघिल्लो वर्ष खरिद गरिएका दुई वाइडबडी जहाजले गत फागुन १९ गतेदेखि जापानको नारिता उडान शुरु गरेको थियो । यसैगरी दक्षिण कोरिया, साउदी अरब, अष्ट्रेलिया तथा चीनको बेइजिङ ग्वाङ्जाओलगायत गन्तब्यमा उडान विस्तार गर्ने योजना बनाइएको छ । सन् १९५८ जुलाई १ मा स्थापना भई २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरेको निगमले ६० वर्षे दौरानमा वाइडबडी ए ३३०–२०० सिरिजको जहाजमार्फत उडान भर्दै आएको छ ।
निगमले हाल अन्तरराष्ट्रिय उडानका नौ गन्तव्यमा उडान भर्दै आएको छ । हाल दुई वाइडबडी ए–३३० र दुई न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ । निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ । रासस