विभागले टोल फ्रि नम्वर ११३७ र सूचना प्रणालीको विकास
आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार
काठमाण्डौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले टोल फ्रि नम्वर ११३७ र उपभोक्ता हित तथा बजार व्यवस्थापन सूचना प्रणाली (Consumer Rights MIS, CRMIS) को विकास गरिरहेको छ ।
सरकारका अरु कर्मचारीहरु बन्दाबन्दीमा घरमा नै बसे पनि बिभागका अधिकारीहरू भने आपूर्ति ब्यबस्थापन र उपभोक्ता हितको गुनासो सम्बोधनको संजाल तयार गर्न अहोरात्र खटिरहेका छन् । विभागलाई नेपाल उपभोक्ता मञ्च लगायतको साथ र प्रतिबद्धता रहेको छ।
उपभोक्ता संघ संस्थाका अगुवाहरू कामको प्रगति हेर्न बिभाग पुगेका थिए । अब टोल फ्री नम्बर र संजाल सकृय भएपछि उपभोक्तालाई बजारको सूचना , आपूर्ति अभावको सूचना , अनुचित ब्यापारी कृयाकलापको सूचना , उपभोक्ता उपर पर्ने मर्का विरुद्ध सुनुवाइ गर्ने ठाउ हुनेछ।
यो टोल फ्री र संजाल देशभरको सूचना लिने र उजुरी तथा गुनासो तत्काल प्रजिअ, स्थानीय प्रहरी निरीक्षण अधिकृत सम्म सूचना पुग्ने हुनेछ, कारबाही प्रारंभ हुने विश्वास गरिएको छ । उपभाेक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले बिभागको यो कामलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।