stcnepal long ad
global ime bank long

सङ्कटमा सेवा दिँदै औषधि व्यवसायी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल  चैत्र १३, २०७६ बिहीबार

बनियानी ।  कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेको आज तेस्रो दिनसम्म झापाका औषधि व्यवसायीले सेवा दिइरहेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम भए पनि अत्यावश्यक सेवाअन्तर्गत औषधि व्यवसाय भएकाले आफूहरुले जोखिम लिएर भए पनि सेवा दिइरहेको उनीहरुको भनाइ छ ।

प्राञ्जल फार्मेसी बिर्तामोडका सञ्चालक विनय डाँगीले सरकारले लकडाउन घोषणा गरेयता दिउँसो ३ देखि बेलुका ६ बजेसम्म पसल खुला राखिएको बताउनुभयो । उनले  नागरिकको अत्यावश्यक वस्तुका रुपमा औषधि रहेकाले आफूहरुले समय तालिका बनाएर भए पनि पसल खुला राखेको बताए । “लक डाउनका कारण चिकित्सकीय सेवा बन्द छ तर औषधि पसल भने खोलिएको छ”, उनले भने , “डाक्टरको सेवा नभए पनि मास्क र आवश्यक औषधिका लागि पनि पसल नियमित खोलिरहेका छौँ ।” आफूहरुको सुरक्षा नभए पनि व्यावसायिक धर्म पूरा गर्न पनि पसल खोल्ने गरेको उनले बताए ।

प्रदीप फार्मेसी बिर्तामोडका सञ्चालक प्रदीप खरेलले समस्या भए पनि पसल सञ्चालन गरिरहेको बताए । उनले भने, “साह्रै गाह्रो परेका मानिस आउने हुन् । समय मिलाएर भए पनि खोल्नै पर्यो नि ।” लक डाउनका कारण घरबाट पसल पुग्नसमेत समस्या हुने गरेको सुनाउँदै उनले भने, “पसल आउँदा प्रहरीले रोक्यो, औषधि व्यवसायी भनेपछि छोडिदिनुभयो ।” औषधि व्यवसायीको सुरक्षाका लागि सरकारीस्तरबाट आवश्यक पहल गर्नुपर्ने उनले भनाइ छ ।

ओम झापा मेडिकलका सञ्चालक सुरेश खतिवडाले निश्चित समय तोकेर पसल खोल्न थालिएको बताउनुभयो । बिहान र बेलुकाको समय मिलाएर पसल खोल्ने गरिएको उनले बताए । “धेरै इमर्जेन्सी पर्नेहरुले फोन गर्नुहुन्छ”, उनले भने, “उहाँहरुलाई पनि औषधि दिनै प¥यो, नियमित औषधि खानेहरु पनि छन् ।” यस्तो जोखिमका बेलामा आफूहरुको सुरक्षाको व्यवस्था नभएको उनले बताए । “मास्क र पञ्जा लगाएर बसेका छौँ”, उनले भने, “कोही औषधि लिन आउँदा दूरी कायम गर्छौं, साबुन पानीले हात धोएपछि मात्रै आउन दिने गरिएको छ ।”

बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी बिर्तामोडकी सञ्चालक नर्वदा भट्टराई सरकारले सुरक्षा दियो भने मात्रै औषधि पसल खोल्न सकिने अवस्था रहेको सुनाउनुहुन्छ । “औषधि लिन एकदमै आवश्यक पर्ने मानिस मात्र आइरहेका छन्”, उनले भने, “नियमित औषधि सेवन गर्ने र थेरापी गराउनेलाई सेवा नदिई हुँदैन ।” लक डाउन रहेसम्म फिजियो थेरापी सम्भव नभए पनि फार्मेसी सेवा दैनिक पाँच घन्टासम्म उपलब्ध हुने उनले बताए । रासस

IME Lifesidebar
kumari