भन्सारको राजस्व भुक्तानी अबदेखि अनलाइनबाटै
काठमाडौँ । भन्सारको राजस्व भुक्तानी गर्न अबदेखि अनलाइनबाटै सकिने भएको छ । भन्सार विभागले बिहीबारदेखि वीरगञ्जस्थित सुक्खा बन्दरगाह हुँदै हुने आयात निर्यात बापतको भन्सार शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंक समेतको लगानी गरेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत सेवाग्राहीले भन्सार राजस्व भुक्तानी गर्न सक्ने वीरगञ्जस्थित प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो । “आधुनिक भन्सार निर्माणको योजना अनुसार अबदेखि राजस्व पनि अनलाइन मार्फत नै गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।
भन्सार प्रणाली व्यवस्थापनमा प्रयोग भइरहेको ‘आसिकुडा वल्र्ड’को मापदण्ड अनुसार विभागले राजस्व निर्धारण गर्ने गरेको हो । यसरी निर्धारण गरिएको राजश्वलाई महालेखा नियन्त्रक कार्यालय मार्फत प्रतिवेदन तयार गरेर अर्को कार्यदिनमा राष्ट्र बैंक हुँदै रेभिन्यु म्यानेजमेन्ट इन्फरमेसन सिष्टम (रिम्स) मा पठाउने गरिन्छ ।
नयाँ व्यवस्था अनुसार रिम्स प्रणालीमा वास्तविक समयमै अद्यावधिक हुनेगरी राजस्व भुक्तानी प्रणाली सञ्चालन गर्न लागिएको हो ।
पौडेलका अनुसार नगदरहित सेवाका लागि महालेखा, अर्थ, आन्तरिक राजस्व र बैंकहरूलाई एकीकृत गरेर भुक्तानी प्रणाली तयार गरिएको छ ।
वीरगञ्जस्थित एकीकृत भन्सार जाँच–चौकी (आईसीपी) मा व्यवसायीले विदेशबाट आयात गरेर ल्याएका सामानको एकद्वार प्रणालीमा जाँच लागू भएको छ ।
विभागले आगामी माघदेखि देशभरिका सबै ठूला भन्सार कार्यालयमा गरिने राजस्व भुक्तानीलाई पनि अनलाइनबाटै गर्न सकिने बनाउने भएको छ । त्यसका लागि अहिले परीक्षणका रूपमा वीरगञ्जस्थित कार्यालयबाट सुरु गर्न लागिएको हो ।






















