नेपाल आउने अधिकांश अन्तर्राष्ट्रिय हवाइसेवा चैत ३० गतेसम्म बन्द

काठमाडौं । सरकारले नेपाल आउने अधिकांश अन्तर्राष्ट्रिय हवाइ सेवा चैत ३० गतेसम्म बन्द गरेको छ । सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रका सबै मुलुकहरूबाट सिधै तथा ट्रान्जिट भएर आउने यात्रु आगमनमा प्रतिवन्ध लगाएको हो । टर्की, मलेशिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान भई आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाइ आउने यात्रुहरुलाई २०७६ चैत्र ७ गते नेपाली समयको मध्यरातदेखि २०७६ चैत्र ३० गतेसम्म आगमनमा प्रतिवन्ध लगाउने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो ।
मन्त्रालयले कोरोना भाइरस नियन्त्रण गर्न विदेशबाट आएका स्वदेशी तथा विदेशी यात्रुलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्ने व्यवस्था मिलाउन पनि निर्देशन दिने निर्णय गरेको हो । विदेशबाट नेपाल आएका यात्रुलाई सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय, अध्यागमन विभाग समेतको समन्वयमा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले आवश्यक कार्य गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
विदेशबाट नेपाल आउने पर्यटकलाई सेल्फ क्वारेन्टाइनमा अवधिपछि मात्र ट्राभल र ट्रेकिङ्ग अनुमति प्रदान गर्न समेत निर्देशन दिइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आउने यात्रुहरुलाई हेल्थ डिक्लेरेशन फारम अनिवार्य भर्न लगाइ स्वास्थ्य जाँच गराउने व्यवस्था पनि सरकारले गर्ने भएको छ । सो काम भए÷नभएको अनुगमन गर्ने जिम्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक दिइने बताइएको छ । साथै, आन्तरिक विमानस्थलका प्रस्थान क्षेत्रमा पनि सबै यात्रुहरुको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउन निर्णय गरिएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न सांस्कृतिक केन्द्र, संग्रहालय तथा अभिलेखालयहरु चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै पर्यटक सवारी साधनमा सीट क्षमताभन्दा बढी यात्रु ओसारपसार गर्न पनि मन्त्रालयले रोक लगाएको छ । पर्यटक बोक्ने सवारी साधन चलाउनु अघि सवारी साधनलाई डिसइन्फेक्सन (संक्रमणरहित) बनाउने र यसको नियमित अनुगमन पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरीले संयुक्त रुपमा गर्ने निर्णय भएको छ ।
नेपाल सरकारद्वारा निश्चित अवधि तोकी ट्राभल एडभाइजरी जारी गरेको कारणबाट कुनै यात्रुले उक्त अवधिभित्रको यात्रा स्थगन गरेको वा वायुसेवा कम्पनी आफैले उडान रद्द गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने र हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै वायुसेवा कम्पनीहरुलाई निर्देशन दिने र सो को नियमित अनुगमन गर्न समेत मन्त्रीले सुझाएका छन् ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान–नाथम, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले संचालन गरिरहेका पठनपाठन २०७६ चैत्र मसान्त सम्म बन्द गर्ने समेत निर्देशन दिइएको छ । सरकारद्वारा गठित कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय अनुसार बिहीबार मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालय र मातहत निकायका विभागीय प्रमुख एवम् प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले विभिन्न १४ वटा महत्वपूर्ण निर्णय गरेका हुन् ।
साँस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानहरुका सभाहल, प्रेक्षालयहरुमा २०७६ साल चैत्र मसान्त सम्म कुनै कार्यक्रम आयोजना नगर्ने र पूर्व निर्धारित कार्यक्रमहरु समेत स्थगन गर्ने निर्णय गरेको समेत गरिएको छ । विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरूमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालु र दर्शनार्थी भेला नहुने व्यवस्था मिलाउन मन्त्रीले निर्देशन दिएका छन् ।
त्यस्ता स्थलहरुमा लामबद्ध हुने दर्शनार्थी र तीर्थालुहरुबीचको दूरी कम्तीमा १ मीटर कायम गर्ने व्यवस्था मिलाउने निर्णय गरको छ । मन्त्रालयले तीथालुहरुलाई पनि साबुन पानीले हात खुट्टा धुने प्रबन्ध मिलाउने भएको छ । पर्यटकस्तरका होटल, मोटल, रिसोर्ट, लज, रेष्टुरेण्ट एवं बारहरुले ज्वरो मापन गर्ने उपकरण तथा सामाग्रीहरुको व्यवस्था गरी उक्त स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउन समेत भनिएको छ ।