kumari bank
Prabhu Insurance
stcnepal long ad

शाह वंशीय राजाको पुर्खा स्थल संकटमा

पोखरा। नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुवात भएको थियो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसन्तपुर दरबार बसाईं सरेका थिए ।

शाह वंशीय राजाका पुराना दरबारहरू विस्तारै ओझेलमा पर्दै गएका छन् । राजसंस्था रहुन्जेल कास्कीकोट, लमजुङ, गोरखा,नुवाकोट दरबार चर्चामै थिए । अहिले राज्यको पुनःसंरचना भएको छ । देशमा लोकतान्त्रिक गणतन्त्र आयो । राजसंस्थाका अवशेषहरू पनि विस्तारै हराउँदै गएका छन् ।

नेपालमा राजतन्त्र छँदासम्म कहिलेकाहीँ पुरानो भूमि कास्कीकोटमा दशैं मनाउन राजपरिवार आइपुग्थे । राजसंस्था नभए पनि अघिल्लो वर्ष पूर्वयुवराज पारस शाह कास्कीकोटमै क्षमापूजा गरेर फर्किएका थिए।

राजा नभएपछि शक्तिपीठहरूमा राष्ट्रपति आउनुपर्ने हो, जनप्रतिनिधि पुग्नुपर्ने हो । तर अहिलेसम्म कोही पुगेका छैनन् । राज्यको प्रतिनिधिका रूपमा भारद्धाज गोत्रका ठकुरीले परम्परा धानिरहेका छन् । कास्कीकोटमा ६ जना पुजारीहरू छन् ।

अधिकारी, बराल, त्रिपाठी, दुई थरि तिमल्सिना र बास्तोलाले पूजा गर्ने चलन छ । बर्कामणि, फेवाली, कोटाले र राजा साहेवकर्ता हुन्छन् । यो चलन अहिले पनि जीवित छ ।

गणतन्त्र आउनुअघिसम्म टीका, जमरा र नवमीको बलि दरबार पठाउने चलन थियो । ‘पहिले राजाको दसैं भन्ने हुन्थ्यो । महानवमीको दिन बलि दिइएको बोकाको दाहिने सपेटो दरबारमा पठाउने चलन थियो ।

हाम्रा हजुरबुबाहरूले दरबारमै पुगेर राजालाई टीका लगाइदिने चलन पनि थियो,’ कास्कीकोट दरबारका पुजारी ठाकुरप्रसाद त्रिपाठीले भने, ‘पछि हुलाकबाट पठाउन थालियो ।

अब अहिले कता पठाउने रु अलमल छ । राष्ट्रपतिलाई पठाउने कि कता पठाउने रु न सरकारले ध्यान दियो, न पठाउ भनेको छ ।’ सरकारले पूजाका लागि लाग्ने खर्च नपठाएका कारण आफूहरूले पनि चासो नदिएको उनले गुनासो सुनाए ।

‘हुन त राज्यले पनि हामीलाई पैसा पठाएको छैन । जाँदाजाँदा हैरान भइसक्यो । पूजा खर्च भनेर सीडीओकोमा गएको पाँच हजार दिए ।

संस्कार धान्न गुठियारहरूले चलाइरहनु भएको छ । नत्र परम्परा उहिलै हराइसक्थ्यो,’ उनी भन्छन्, ‘राजा नभएपछि टीका जमरा अहिले राष्ट्रपतिलाई पठाउनुपर्ने हो । त्यसो गरिएको छैन ।’

परम्परा धान्नका लागि मात्रै आफूहरूले पूजा नछाडेको त्रिपाठी बताउँछन् । ‘परम्परा धान्नै पर्‍यो । ऋण खोजेर १७ वटा बोका र सातवटा राँगाको बलि अर्पण गर्दैछौं,’ उनले थपे, ‘हामीले समितिले ऋण खोजेरै भए पनि बलि दिन्छौं ।

कम्तीमा दुई लाख ३० हजार बलिमा खर्च हुन्छ । पूजाको अरु खर्च छुट्टै छ ।’ उनका अनुसार बलि दिन जातीय विभेद दरबारमा छैन । सबैले ढुक्कसँग बलि दिने व्यवस्था मिलाइएको दरबारले जनाएको छ ।

कास्कीकोट र अन्य दरबारमा पूजा परम्परा फरक नभएको त्रिपाठीले जानकारी दिए । ‘यो त ओझेलमा परेको ठाउँ हो । यहीँको सिको लमजुङ र लमजुङको सिको गोरखाले गरेको हो, उनी भन्छन्, ‘शक्तिपीठमा पूजाको परम्परा एउटै हो । बलिमा तलमाथि हुन्छ । उता धेरै सम्पत्ति छ, २१ वटा राँगा काट्छन् । हामीसँग पैसा छैन, सातवटा काट्छौं ।’

सरकारले हिजोआज शक्तिपीठलाई बजेट छुट्याउन छोडेको छ । यो वर्ष विश्व शान्तिको कामना तथा नेपालको उन्नति र रोगव्याधी हरणको निमित्त संकल्प गरेर पूजा गरिएको हो । ‘कोरोनाले अघिल्लो वर्ष राम्रो भएन । अहिले कोरोना पनि घटेको छ ।

सामाजिक दूरी कायम गरेर भक्तालु आउनुहुन्छ,’ उनी भन्छन्, ‘पूजा परम्परामा पनि कोभिडले थोरै असर गरेको छ । तर रौनक केही फेरिएको छैन, तरिका फेरिएको छैन ।’ शास्त्रीय पद्धतिअनुसार चल्ने भएकाले परिवर्तन नभएको बरु पहिले हराएका विधिलाई थपिएको उनको भनाइ छ ।

कास्कीकोटमा तान्त्रिक र वैद्धिक दुवै पूजा हुन्छ । बानदार ६ जना र पाला पुजार १२ गरी १८ जना विजयादशमीका दिनसम्म दरबारमै बस्छन् । षष्टीको दिन त्रिपाठीहरू पोखराकै रामघाट गएर सप्तमीको दिन डोलीसहित फूलपत्र भित्र्याउने चलन छ ।

त्यसपछि नेपालकै पुरानो टुँडिखेल कुलमण्डन पार्कमा सरुन प्रवचनसहित अष्टमीमा राति कालरात्रीको महावलि पूजा गर्ने चलन छ ।

महानवमीमा सबै भक्तजनका लागि पन्चवली पूजा हुन्छ । होम हुन्छ, वेद र चण्डी पाठ हुन्छ । दशमीको दिन टीका लगाएर वासपानी कुण्डमा लगेर विसर्जन गर्ने चलन छ । ‘मान्छेहरू उत्साही छन् ।

विशेष कारणले नआउने हुन सक्छ, तर उत्साह र प्रचलन घटेको छैन,’ पुजारी त्रिपाठी भन्छन्, ‘परम्परा नहराओस् भनेर नयाँ पुस्तामा पनि हस्तान्तरण गर्न थालेका छौं ।’ कास्कीकोटसहित पोखराका विन्ध्यावासिनी, तालबाराही, केदारेश्वर जस्ता महत्वपूर्ण पीठहरूमा पनि परम्पराअनुसार दसैं पूजा हुँदै आएको छ ।


२७ असोज २०७८, बुधवार १२:२१ बजे प्रकाशित

nabil bank