चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल पैठारी हुन सकेन
काठमाडौँ – कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल पैठारी हुन सकेको छैन ।
हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिकटन युरिया र पाँच हजार मेट्रिकटन डीएपी सहित ४० हजार मेट्रिक टन रसायनिक मल पठाउन चिनीयाँ पक्षले तत्परता नदेखाएकाले रोकिएको मलका ठेकेदार सिल्क ट्रान्स्पोर्ट प्रा.लि.का अध्यक्ष रमेश शेर्पाले बताए ।
समयमा मल उपलब्ध हुन नसक्दा किसानले हैरानी व्यहोर्दैै आएकाले यसपाली समयमै मल झिकाउन लागिएको थियो । चीनबाट भिकाइएको मल चाँडै नै नेपाल पठाउन प्रधानमन्त्री समेतले चिनीयाँ दुतावासलाई आग्रह गर्दा पनि सहजीकरण नगरेपछि हैरानी खेप्नु परेको अध्यक्ष शेर्पाले आरोप लगाए ।
रसायनिक मललाई प्राथमिकता दिई व्यापारिक सामानलाई पनि चाँडै पठाउन चिनीयाँ पक्षलाई आग्रह गरिएको थियो । त्यसैगरी दैनिक २० गाडी मात्र पठाउन आग्रह गरे पनि दैनिक आठदेखि १२ गाडी मात्र पठाउने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए ।
सरकारले भारत र बङ्गलादेशबाट मात्र रसायनिक मल झिकाइँदै आएकोमा पहिलो पटक चीनबाट गत वर्षको फागुनमा साल्ट टेडिङ कर्पोरेसन मार्फत चार हजार मेट्रिकटन युरियामल झिकाएको थियो ।