एमसिसिको अनावश्यक विरोध शुरू
काठमाडौं । चार कम्युनिस्ट राजनीतिक दलले दार्चुला जिल्लामा भारतीय एसएसबीले महाकाली नदीको तुइन काटी जयसिंह धामीलाई वेपत्ता बनाएको घटनाको विरोध गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन।
यसरी ज्ञापनपत्र बुझाउने दलमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, नेकपा विप्लव समूह महासचिव विप्लव, नेकपा ऋषि कट्टेल समूहका अध्यक्ष ऋषिराम कट्टेल , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतीले हस्ताक्षर गरेका छन।
यसैवीच एमसिसि खारेजीका लागि संयुक्त संघर्ष समिति, नेपाल (२०७८)
को बैठक हिजो नेपाल हाउस हात्तिसारमा सम्पन्न भएको छ।
भेलामा विभिन्न राजनीतिक दल, सामाजिक–साहित्यिक संघसंस्था र नागरिक समाज लगायतका पाँच दर्जन भन्दा बढी एमसिसि खारेज अभियान चलाइ रहेका विभिन्न संगठनहरुका संस्थागत प्रतिनिधि व्यक्तिहरू र केही स्वतन्त्र व्यक्तित्वहरुको प्रत्यक्ष उपस्थितिमामा कार्यक्रम भएको छ।
कार्यक्रममा देशका विभिन्न जिल्ला र विदेशका विभिन्न शहरहरुबाट तत्काल प्रत्यक्ष उपस्थित हुन नसकेका तीन दर्जन जति संघसंस्था र तिनका प्रतिनिधिहरुले भेलामा सहभागी हुन नसके पनि संयुक्त संघर्ष समितिमा आवद्ध हुन चाहेको बताएका छन्। भेलामा करिब एक सय जनाजतिको उपस्थिति थियो।
एमसिसि खारेज अभियानका संयोजक अभियन्ता नारायण शर्माको अध्यक्षता, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी) की अध्यक्ष अभियन्ता भावना विद्रोहीको संचालन र नागरिक आवाज नेपालका सदस्य अभियन्ता रवीन्द्र श्रेष्ठको स्वागत मन्तव्य तथा नेकपा माओवादी केन्द्रका स्थायी समिती सदस्य अभियन्ता लीलामणी पोख्रेलको प्रशिक्षणात्मक र सुझावमूलक मन्तव्य लगायत विभिन्न सहभागी अभियन्ताहरुका संक्षिप्त मन्तव्यसहित कार्यक्रम शुरू भएको थियो। सो भेलाले केही ऐतिहासिक महत्वका निर्णयहरु गरेको छ, जो यसप्रकार छन् :
१, भेलामा उपस्थित हुनु भएका र आजको भेलामा विविध कारणवश उपस्थित हुन नसक्नु भएका तर संयुक्त संघर्ष समितिमा आवद्ध हुन इच्छुकहरुलाई समेत समावेश गरी एउटा राष्ट्रिय परिषद बनाउने निर्णय गरियो ।
२. भेला आयोजक अभियानका संयोजक अभियन्ता नारायण शर्माले र जन समाजवादी पार्टीका उपमहासचिव अभियन्ता डम्बरबिक्रम कार्कीले भेलामा क्रमशः प्रस्तुत गर्नु भएका वैचारिक आधारपत्र र आचार संहितामाथि छलफल हुँदा प्राप्त उपयुक्त र रचनात्मक सुझावलाई समेटेर परिमार्जन गर्ने गरी पारित गरियो ।
३, समिति स्वयंले आवश्यकता र सम्भाव्यता अनुसार सदस्य संख्या थपघट गर्ने गरी हाललाई नारायण शर्माको संयोजकत्वमा नेकपाका सहसंयोजक अभियन्ता लोक नारायण सुवेदी, वरिष्ठ नागरिक अगुवा बुद्धिजीवी अभियन्ता श्याम श्रेष्ठ, नेपाली राष्ट्रवादी अभियन्ता साध्यबहादुर भण्डारी लगायतका व्यक्तित्वहरु रहनुभएको १५ सदस्यीय संयुक्त संघर्ष समितिको गठन गरियो ।
४. वरिष्ठ वामपन्थी व्यक्तित्व अभियन्ताहरु घनश्याम शर्मा पौड्याल, लोककृष्ण भट्टराई र कतिपय राजनीतिक दलका नेता अभियन्ताहरु रहने गरी एक सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरियो ।
५. पारित आधारपत्र र आचारसंहिताको नीति र मान्यताअन्तर्गत रहेर संघर्ष समितिलाई अन्य आवश्यक नीतिगत, सांगठनिक र कार्यक्रमिक विषयमा निर्णय र कार्यान्वयन गर्ने(गराउने अधिकार दिने निर्णय गरियो ।
६. संयुक्त संघर्ष समितिको आगामी बैठक शीघ्रातिशीघ्र बसी अन्य आवश्यक काम( कार्वाहीहरु अगाडि बढाउने पनि निर्णय गरियो ।
७. अन्तमा, सरकारबाट एमसिसि सम्झौता सदनमा प्रस्तुत र पारित गर्ने खतरा रहेको अवस्थामा सरकारमै रहेको पार्टीका नेता भएर पनि एमसिसि सम्झौता राष्ट्रघाती भएकाले यसको खारेजीको लागि आफू प्रतिबद्ध भएको र यसप्रकारको खारेजीको आन्दोलनलाई हरतरहले सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएका अभियन्ता लीलामणि पोख्रेललाई विशेष धन्यवाद दिंदै सम्पन्न भएको छ।




























