Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

अमेरिकाबाट १५ लाख खोप आउने

civilbank long ad

काठमाडौं । आगामी असार २८ सोमबारभित्र कोभ्याक्स फ्यासिलिटी मार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सोमबारसम्म जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा खोप आउन लागेको र त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले नेपालका लागि १५ लाख र भुटानका लागि ५ लाख मात्रा खोप पठाउन लागेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले केही समयअघि मात्रै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई पत्र लेख्दै खोपमा सहयोग गर्न आग्रह गरेकी थिइन् ।

कोरोनाविरुद्ध बनेका अन्य खोपहरू दुई मात्रा लगाउनुपर्ने भए पनि जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा मात्र लगाए पुग्ने खोप विज्ञहरूको भनाइ रहेको छ । नेपालमा हालसम्म कोभ्याक्स फ्यासिलिटीमार्फत अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतको सेरम इन्टिस्च्युटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज प्राप्त भएको छ ।

कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । तर, प्रतिबद्धताअनुरूप समानुपातिक तवरबाट खोप वितरण नभएको भन्दै आलोचना हुँदै आएको छ ।

नेपालमा प्राप्त हुने जोन्सन एन्ड जोनसनको १५ लाख मात्रा कुन समूहलाई दिने निक्यौल भैसकेको छैन। खोप कार्ययोजनामा तय गरिएको खोप प्राथमिकता समूहका आधारमा उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको तयारी रहेको छ ।

स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख मात्रा जोन्सन एन्ड जोन्सन खोप खरिदका लागि पत्राचार गरेको थियो । तर, सो पत्रको जवाफ अहिलेसम्म आएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले विपन्न र गरिब मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।


२६ असार २०७८, शनिवार ०७:४२ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad