चैत ४ गतेदेखि ८ गते हुने भनिएको भक्तपुर महोत्सव स्थगित

आर्थिक सञ्जाल शुक्रबार, २३ फागुन २०७६
भक्तपुर । भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँच दिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो । तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
नगरपालिकाले महोत्सवलाई भव्यरुपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिककर्मी, शिक्षा सरोकारवाला, बाजाका गुरु लगायतका पक्षहरुसँग छलफल गर्ने तथा अन्य तयारीको कामलाई तीव्र पारेको थियो । महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका विहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक नाच प्रस्तुत गर्ने कार्यक्रम, परम्परागत वाद्यवादन प्रतियोगिता लगायतका कार्यक्रम तय गरिएका थिए ।
त्यस्तै महोत्सवको सन्दर्भमा पर्यटकीय क्षेत्रमा स्तरीय शौचालय, हरियाली प्रवद्र्धन, सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था तथा रात्रिकालीन पदयात्रा सञ्चालन काम अगाडि बढेका थिए ।
त्यस्तै नगरपालिकाले स्थानीय युवालाई चिनियाँ, जापानी, अङ्ग्रेजी, फ्रान्सेली, स्पेनिस भाषा लगायत विदेशी भाषाहरूको तालीम सञ्चालन गरेको थियो ।
२३ फागुन २०७६, शुक्रवार १४:२९ बजे प्रकाशित