काठमाडौं महानगरका पूर्व मेयर एवम् पूर्वमन्त्री प्रयागराज सिंह सुवालको निधन
काठमाडौं । महानगरपालिकाका पूर्व मेयर एवम् पूर्वमन्त्री प्रयागराज सिंह सुवालको ९३ वर्षको उमेरमा निधन भएको छ ।
सुवालको हिजो आइतवार बेलुकी ७ः५५ मा आफ्नै निवास काठमाडौं स्थित ओमबहालमा निधन भएको हो । उहाँ लामो समयदेखि उच्च रक्तचाप र मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो।
अहिले बिहान १० बजेसम्म उहाँको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि ओमबहालमा राखिने स्थानीय ओलम्पस क्लबका अध्यक्ष एवम् वडा २३ को पूर्व अध्यक्ष पवित्र बज्राचार्यले बताउनु भयो। त्यसपछि उहाँको आजै अन्तिम संस्कार गरिने छ।
२०१० सालमा भएको काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनमा सुवाल नगर उपसभापति (उपमेयर ) मा निर्वाचित हुनु भएको थियो भने काठमाडौं नगरपालिकाको दोस्रो निर्वाचनमा सुवाल मेयरमा निर्वाचित हुनु भएको थियो । सुवाल २०३० सालमा नगेन्द्रप्रसाद रिजालको प्रधानमन्त्रीत्व कालमा स्वास्थ्य तथा यातायात मन्त्री बन्नुभएको थियो ।
राणा शासकले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मारेपछि राणा विरोधी आन्दोलनमा लाग्नु भएका सुवालले लामो समय जेलजीवन समेत बिताउनु परेको थियो ।























