stcnepal long ad
global ime bank long

राज्यमन्त्रीका सल्लाहकार पक्राउ, युवतीलाई बन्धक बनाई बलात्कार गरेको आरोप

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । प्रहरीका अनुसार ५२ वर्षीय घले १७ वर्षीया किशोरीलाई लिफ्ट दिने नाममा ४ दिन बन्धक बनाएर बलात्कार गरेको आरोपमा १४ दिन अघि पक्राउ परेका हुन् ।

घलेले किशोरीलाई माघ २७ देखि फागुन १ गतेसम्म टोखास्थित एक घरको फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।
उनलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए । प्रहरीका अनुसार सिन्धुलीकी ती किशोरी घरबाट काठमाडौं आउने क्रममा काभ्रेको बनेपामा बस पर्खिरहेकी थिइन् । काठमाडौंबाट बनेपा पुगेका घलेले सडक किनारमा बस कुरिरहेकी किशोरीलाई मोटरसाइकलमा लिफ्ट दिए ।

किशोरीलाई गन्तव्यमा पुग्न नदिई घलेले ४ दिनसम्म बन्धक बनाएको खुलेको छ । टोखास्थित एक घरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्दै आएका घलेका परिवार अमेरिकामा रहेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार घलेले १२ कक्षामा अध्ययनरत ती किशोरीलाई अमेरिका पठाइदिने प्रलोभनमा पारेर पटक–पटक बलात्कार गरेको खुलेको छ । किशोरीले फागुन १ गते आफन्तलाई घटनाबारे खबर गरेको र सूचनाको आधारमा प्रहरीले घलेलाई नियन्त्रणमा लिएको जनाएको छ ।

‘किशोरीले आफूलाई घलेले फ्ल्याट कोठामा बन्धक बनाएर बलात्कार गरेको उजुरी दिइसकेकी छन्,’ बोगटीले भने,‘किशोरीको स्वास्थ्य जाँचसहितको प्रक्रिया पूरा गरिसकेका छौं ।’ घलेले फ्ल्याट भाडामा लिएर अनैतिक क्रियाकलाप गर्ने गरेको समेत खुलेको प्रहरीले जनाएको छ । आजको कान्तिपुर दैनिकबाट ।

IME Lifesidebar
kumari