शालिमार, रिलाइन्स र एमजेप्पी सिमेन्ट तथा अशोक स्टिललाई गुणस्तरको कारवाही
आर्थिक सञ्जाल । मंगलबार,१३ फागुन २०७६
काठमाडौं । गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट तथा स्टिल उत्पादन गरेको भन्दै चार वटा सिमेन्ट तथा स्टिल उद्योगलाई कारवाही गरेको छ । बजारमा संकलित नमुनाहरु विभागको प्रयोगशालामा परीक्षण गर्दा नेपाल गुणस्तर अनुरुप नपाइएकोले उनीहरुलाई कारवाही गरिएको जनाइएको छ ।
कारवाहीमा पर्नेहरुमा बाराको नेपाल शालिमार सिमेन्ट प्रा.लि, बाराको रिलाइन्स सुपरटेक सिमेन्ट प्रा.लि, कपिलवस्तुको बाराको अशोक स्टिल प्रा.लि र एमजेप्पी सिमेन्ट प्राली छन् । शालिमार सिमेन्टको संकलित नमुनाको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्थ १५ एमपीए र एमजीओ (छ दशमलव सात प्रतिशत) नेपाल गुणस्तर ३८५ अनुरुप नरहेको भन्दै उसको प्रमाणपत्र स्थगन गरिएको छ ।
त्यस्तै, रिलायन्स सुपरटेक सिमेन्टको डनलप पीएससी सिमेन्टको संकलित नमुनाको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्थ १४एमपीए नेपाल गुणस्तर २८४ अनुरुप नरहेको भन्दै उसको पनि प्रमाणपत्र स्थगन गरिएको छ भने अशोक स्टिलको एमई ५०० टीएमटी बार १२ एमएमको संकलित नमुनाको इलोङगेशन (११ दशमलव ६७ प्रतिशत) र बेन्ड टेष्ट नेपाल गुणस्तर १९१ अनुरुप नरहेको भन्दै उसको प्रमाणपत्र रद्द गरिएको छ । एमजेप्पी सिमेन्टको बुद्ध पीपीसी सिमेन्टको संकलित नमुनाको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्थ (११एमपीए) र सात दिनको कम्प्रेसिभ स्ट्रेन्थ (१७ एमपीए) नेपाल गुणस्तर ३८५ अनुरुप नरहेकोले उसलाई स्पष्टिकरण सोध्ने निर्णय गरिएको छ ।