stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रसंघका महासचिवद्वारा नेपाली सेनाका उपरथी हमाललाई ‘अनडोफ’को प्रमुखमा नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । मंगलबार,१३ फागुन २०७६

काठमाडौं ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई युनाइटेड नेसन्स डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स (अनडोफ)को प्रमुखमा नियुक्त गरेका छन्।

इजरायल र सिरियाबीचको तनाव कम गर्ने उद्देश्यले दुई देशको सीमामा राष्ट्रसंघले विभिन्न देशका शान्ति सेना खटाएको छ। यही मिसनलाई राष्ट्रसंघले अनडोफ नाम दिएको छ। राष्ट्रसंघका महासचिवले यही मिसनको प्रमुख तथा फोर्स कमाण्डरको रुपमा हमाललाई नियुक्त गरेका हुन्।

‘राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई युनाइटेड नेसन्स डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स (अनडोफ)को प्रमुखमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले ट्वीटरमार्फत् भनेको छ।

हमाल नेपाली सेनामा १९८३ मा प्रवेश गरेका थिए। उनले नेपाली सेनाको स्टाफ कलेज र मध्य–पूर्वी पृतनाको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

अनडोफ राष्ट्रसंघ सुरक्षा परिषदले सन् १९७४ मा गरेको प्रस्ताव अनुसार स्थापना गरिएको हो। इजरायल र सिरियबीच युद्धविराम गराउन यो मिसना स्थापना गरिएको थियो।

अनडोफ मिसनमा नेपाल, भारत, उरुग्वे, फिजी, आयरल्याण्ड र घानाका १ हजार १ सय ३९ शान्ति सेना रहेका छन्। अनडोफमा नेपालबाट ३ सय ४६, भारतबाट १ सय ७५, उरुग्वेबाट १ सय ७०, फिजीबाट १ सय ३३, आयरल्याण्डबाट १ सय ३० र घानाबाट ९ जना शान्ति सैनिक खटिएका छन्।

चेक रिपब्लिक, भुटान, नेदरल्याण्ड्स र अष्ट्रेलियाबाट अनडोफमा ५२ जना गैर सैनिक स्टाफ खटाइएको छ।

यसअघि हालका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सन् २०१५-२०१६ मा अनडोफको फोर्स कमाण्डर नियुक्त भएका थिए। सन् २००४ मा नेपाली सेनाका तत्कालिन उपरथी बालानन्द शर्मालाई पनि अनडोफको फोर्स कमाण्डर नियुक्त गरिएको थियो। राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अनानले शर्मालाई फोर्स कमाण्डर नियुक्त गरेका थिए। अनडोफको फोर्स कमाण्डरमा नियुक्ती पाउने हमाल तेस्रो व्यक्ति हुन्।

राष्ट्रसंघको शान्ति मिसनमा धेरै सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल चौथो नम्बरमा रहेको छ। नेपालले सन् २०२० फेब्रुअरीमा राष्ट्रसंघको १२ वटा मिसनमा ५ हजार ९६ जना नेपाली सेनलाई खटाएको छ। सन् १९५५ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएसँगै नेपालले राष्ट्रसंघका मिसनमा शान्ति सेना पठाउँदै आएको छ। हालसम्म राष्ट्रसंघका ४३ वटा मिसनमा १ लाख २९ हजार ८ सय ९९ जना नेपाली सेना खटिसकेका छन्।

राष्ट्रसंघको शान्ति मिसनमा सैनिक उपलब्ध गराउने नेपाल चौथो राष्ट्र भए पनि नेपाललाई मिसनमा उच्च ओहदा कमै उपलब्ध गराउने गरिएको छ। यसको लागि नेपालले पटक पटक राष्ट्रसंघसँग आग्रह गर्दै आएको छ। यसपटक राष्ट्रसंघका महासचिवले नेपाली सेनाका उपरथी हमाललाई अनडोफको प्रमुखमा नियुक्त गरेका छन्। सुरेन्द्र पौडेल

prabhu mahalaxmi
kumari