बेलायती सेनाध्यक्ष काठमाडौँमा

४ फाल्गुन २०७६, आईतवार
काठमाडौँ । बेलायतका सेनाध्यक्ष मार्क कार्लेटन(स्मिथ नेपालको साताव्यापी औपचारिक भ्रमणका क्रममा हिजो शनिवार काठमाडौँ आइपुगेका छन् ।
मार्कलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत गरेका छन् ।
नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
‘यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बेलायती सेना बिच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध थप सुमधुर एवम् प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ’, जङ्गी अड्डाले शनिवार एक विज्ञप्ति जारी गरि भनेको छ ।
जङ्गी अड्डाले जनाए अनुसार बेलायती सेनाध्यक्ष मार्क आइतबार फागुन ४ गते टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नेछन् । साथै जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम समेत रहेको छ ।
नेपाल भ्रमणको क्रममा मार्कले पोखरास्थित पश्चिम पृतना मुख्यालय, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र केही महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम छ। उनी फागुन ९ गते स्वदेश फर्किने छन्।