सुपथ मूल्य पसल आगामी असोज १५ गतेबाट सञ्चालन हुने, अनलाइनबाट पनि किन्न मिल्ने

काठमाडौं । आगामी असोज १५ गतेपछि देशभर दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यहि असोज १५ गतेदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा.नारायण प्रसाद रेग्मीले असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी सरकारले गरेको बताए ।
‘कहाँ कहाँ र कसरी यस्ता पसलहरू राख्ने सम्बन्धमा अहिले मन्त्रालयमा छलफल भइरहेको छ,’ उनले भने ‘यस विषयमा छिट्टै निर्णय हुँदैछ ।’ छुटमा विषयमा पनि अहिले कुनै निर्णय गरिएको छैन,’ उनले थपे ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि घटस्थापना हुनुभन्दा १५ दिन अघि सहुलियत पसल सञ्चालनमा ल्याउन सरकारले असोज १५ देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी थालेको हो ।
विगतमा साल्ट्र ट्रेडिड कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका थिए ।
यस वर्ष कोभिड प्रकोपका कारण यी तिनै संस्थाले दिने सेवाहरूलाई एकीकृत रुपमा समायोजन गरि स्थान तोकेर छुट्टाछुट्टै सुपथ मूल्य पसल राख्ने व्यवस्था हुन सक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रवक्ता सर्मिला सुवेदीले बताइन् ।
‘छुट्टाछुट्टै सुपथ मूल्य पसल सञ्चालन गर्दा भिडभाड हुने आकलन गर्दै यसलाई न्यूनीकरण गर्न यस वर्ष सबै संस्थानका वस्तु एउटै पसलमा राख्ने व्यवस्थापन मिलाएर पसल सञ्चालनमा ल्याउन सकिन्छ कि भनेर समेत छलफल भइरहेको छ,’ उनले भनिन् ।
हरेक वर्ष सरकारले दशैं तिहारका लागि लक्षित गरी चिनी, नुन, तेल, दाल, चामल लगायतका उपभोग्य वस्तुको सहुलियत दरमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
सरकारले उपत्यकाका र उपत्यका बाहिरका विभिन्न स्थानमा यस्ता पसल सञ्चालन गर्दै आएका छन् । सुपथ मूल्य पसल बिहान १० बजेदेखि सञ्चालनमा रहने छ ।
उनकाअनुसार उपत्यकामा रामशाहपथ, थापाथली, नक्खु, जावलाखेल, सूर्यविनायक, बल्खु, टेकु र जडीबुटीलगायतका स्थानमा सञ्चालनमा ल्याइएको छ ।
यसैगरी बूढानीलकण्ठ, बौद्ध, सतुंगल, नयाँ बानेश्वर, कालिमाटी,कीर्तिपुरमा पनि सुपथ मूल्य पसल सञ्चालन हुनेछ । उपत्यकाबाहिर भने बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ र भैरहवामा यस्ता पसल सञ्चालन गरिएको छ ।
सरकारले टिकापुर, कृष्णनगर, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, दिपायल, डँडेलधुरा, बैलौरी र त्रिशूलीमा पनि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
यसैगरी चक्रपथ आसपासका क्षेत्रमा गाडीबाट घुम्ती पसल सञ्चालन गर्नुका साथै अनलाइनबाट समेत सेवा दिने सुवेदी बताइन् । यसैबीच मन्त्रालयले बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, मूल्य वृद्धि, मिसावट लगायतका प्रवृति रोक्न एकीकृत अनुगमन टोलीले निरीक्षण समेत गर्ने भएको छ ।
सूपथ पसलमार्फत सरकारले चिनी, नुन चामल र गेडागुडी, खाने तेललगायतका वस्तुमा छुट दिँदै आएको छ । । यस्तै खाद्य कम्पनीले दशैं अवधिमा खसी, बोका, च्याङग्रा र भेडा समेत बिक्री गर्नेछ । कम्पनीले यस वर्ष ५करोड ९९ लाख रुपैयाँको ३ हजार खसी बोका÷भेडा च्याङ्ग्रा बिक्री गर्ने योजना बनाएको छ ।