२० वाणिज्य बैंकको आगामी मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक
काठमाडौं । निक्षेप राखेबापत वाणिज्य बैंकहरूमा पाइने प्रतिफल थप खुम्चिएको छ। आगामी मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेका २० वाणिज्य बैंकमध्ये ६ वटाले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १४ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले यसपटक ब्याजदर बढाउने निर्णय गरेका छैनन्।
बैंकहरूले सार्वजनिक गरेको नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४ प्रतिशतको सीमासमेत पार गर्दै ३.९०६ प्रतिशतमा झरेको छ। कात्तिकमा यस्तो ब्याजदर औसत ४.०१३ प्रतिशत थियो।
संस्थागत निक्षेपकर्ताले पाउने ब्याजदरमा पनि सुधार देखिएको छैन। कात्तिकमा औसत ३.००३ प्रतिशत रहेको संस्थागत निक्षेपको अधिकतम ब्याजदर मंसिरमा घटेर २.९९०५ प्रतिशतमा सीमित भएको छ।
ब्याजदर घटाउने बैंकमध्ये माछापुच्छ्रे बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर एकैपटक १ प्रतिशतविन्दुले कटौती गर्दै ४.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ।
कृषि विकास बैंकले पनि ०.५ प्रतिशतविन्दु घटाएर ३.६५ प्रतिशत कायम गरेको छ। एनएमबि बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपको दर ०.२५ प्रतिशतविन्दुले घटाएको छ। अब बैंकले व्यक्तिगत निक्षेपमा ४.२५ प्रतिशत र संस्थागत निक्षेपमा ३.२५ प्रतिशत ब्याज दिनेछ।
लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशतविन्दु घटाएर ३.७५ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशतविन्दु कटौती गरी ३.६१ प्रतिशत तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दु घटाएर ३.६५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
अधिकांश बैंकले ब्याजदर नचलाउँदा पनि निक्षेपकर्ताले पाउने प्रतिफलमा प्रतिस्पर्धात्मक सुधार हुन सकेको छैन।
मंसिरमा सानिमा बैंक व्यक्तिगत निक्षेपमा ४.५ प्रतिशत र संस्थागत निक्षेपमा ३.५१ प्रतिशत ब्याज दिने गरी सबैभन्दा आकर्षक दर कायम गर्ने बैंक बनेको छ। त्यसपछि प्रभु बैंकले ४.२५ प्रतिशत र नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्।
हिमालयन बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपमा ४ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।























