कान्तिपुर फर्मास्यूटिकल्सको मंसिर १० देखि आईपीओ खुल्ने
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ
काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुलामंसिर १० गतेदेखि गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १७ प्रतिशत अर्थात् १७ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १७ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ ।
जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ८० लाख रुपैयाँबराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । उक्त सेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर ७ का बासिन्दाले आवेदन दिन पाउनेछन् ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ । यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा मंसिर २४ गतेसम्म र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने मंसिर १५ गतेसम्म आवेदन दिने समय तोकिएको छ ।
उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि मंसिर २४ गतेसम्म थप गरिनेछ ।आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।























