citizens life insurance long ad
stcnepal long ad

नेपाल बैङ्कको चार अर्ब ५० करोड नाफा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालमा औपचारिक बैङ्किङ प्रणालीको जग बसालेको नेपाल बैङ्क लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा चार अर्ब ५० करोड रुपियाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।

कुल निक्षेप सङ्कलन चार खर्ब १६ अर्ब रुपियाँ पुगेको छ भने कर्जा लगानी दुई खर्ब ६२ अर्ब पुगेको छ । स्थापनाकालमा कुल आठ लाख ४२ हजार रुपियाँ चुक्ता पुँजीसहित खुलेको सो बैङ्कको चुक्ता पुँजी अहिले १५ अर्ब ६९ करोड रुपियाँ पुगेको बैङ्कले जनाएको छ ।

नियामक निकाय नेपाल राष्ट्र बैङ्क स्थापना हुनुपूर्व नै स्थापित मुलुककै जेठो सो बैङ्कले सोमबार ९० औँ वार्षिकोत्सव मनाउँदै छ ।

परम्परागत साहुमहाजन प्रथाको अन्त्य गर्दै सर्वसाधारणको रकम औपचारिक माध्यमबाट निक्षेप सङ्कलन तथा कर्जा प्रवाहको थालनी गरेको सो बैङ्क अहिले नवीनतम प्रविधि उपयोग तथा नियामकीय मापदण्ड पालना गर्दै पूर्ण व्यावसायिक र प्रतिस्पर्धी बैङ्कका रूपमा स्थापित भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बताउनुभयो ।

“बैङ्कले बजारमा उपलब्ध आधुनिक डिजिटल बैङ्किङ सेवाहरूमा आफूलाई अन्य बैङ्कसँगै समानान्तर रूपमा अगाडि बढाइरहेको छ,” सिइओ पाण्डेयले भन्नुभयो ।

सुरुवाती चरणमा १२ जना कर्मचारीबाट सुरु भएको बैङ्कमा अहिले करिब तीन हजार छ सय कर्मचारी आबद्ध छन् ।

बैङ्कको वित्तीय अवस्था सबल रहेको भन्दै बैङ्कका सिइओ पाण्डेयले बैङ्कको चुक्ता पुँजी करिब १५ अर्ब ६९ करोड रुपियाँ, जगेडा कोष करिब २५ अर्ब रुपियाँ र कुल नेटवर्थ करिब ४२ अर्ब रुपियाँ रहेको जानकारी दिनुभयो ।

बैङ्कले सरकारी सुरक्षणपत्र तथा विभिन्न क्षेत्रमा गरी करिब १५० अर्ब रुपियाँ लगानी रहेको छ । नेपाल राष्ट्र बैङ्कको मापदण्ड अनुसार बैङ्कको जोखिम भारित पुँजी पर्याप्तता अनुपात १३.६६ प्रतिशत (अपरिष्कृत) कायम रहेको छ ।

IME Life
kumari