कोटेश्वरमा किराना पसलबाट फैलियो कोरोना
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित असर्फी टोल सिल गरिएको छ । कोरोना भाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको हो ।
गत साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोल अनुसार थप १३ जनामा कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ । तीन जनालाई भने उनीहरूकै घरमा राखिएको छ ।
डङ्गोलले ‘सुरूमा किराना पसल सञ्चालकमा कोरोना देखिएको थियो । उक्त पसलमा सामान किन्न आउनेहरू सय ४० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो ।
१३ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी आएको छ ।’ प्रवक्ताका अनुसार कोरोना देखिएका अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ । काठमाडौँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ ।
काठमाडौँ महानगर २२ वडा अन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबौद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता डङ्गोलले बताउनुभयो । त्यस्तै वडा ५ अन्तर्गत हाँडीगाउँ क्षेत्रमा पनि एकै परिवारका पाँच जनामा सङ्क्रमण पाइएपछि लकडाउन गरिएको उहाँले बताउनुभयो ।






























