बजेट र मौद्रिक नीतिमा भएका व्यवस्था कार्यान्वयन गर्न माग
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआइ) का पदाधिकारीहरुले बुधबार अर्थमन्त्री डा। युवराज खतिवडासँग भेट गरी अर्थतन्त्रका समसामयिक विषयमा छलफल गरेका छन् । परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको पदाधिकारी टोलीले अर्थमन्त्री समक्ष आर्थिक वर्ष २०७७/०७८ को बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीति आएकाले निजी क्षेत्रले राहत महसुस गरेको बताएको छ ।
अब बजेट र मौद्रिक नीति कार्यान्वयनमा जोड दिन पनि माग गरिएको छ । बजेट मार्फत उत्पादनमूलक उद्योगमा लक डाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने प्रबन्ध मिलाइएको थियो ।
तर व्यवहारमा अहिले त्यसलाई कार्यान्वयन नगरी विद्युत प्राधिकरणबाट पहिलेकै विल जारी भएकाले उद्योगहरुलाई थप मर्का परेको सीएनआईले अर्थमन्त्रीसमक्ष अवगत गराएको छ ।
निर्यात गरिएका वस्तुमा भ्याट फिर्ताको व्यवस्था, निर्यातजन्य उद्योगहरुलाई दिइने बोन्डेड वेयर हाउसको सुविधा, सामाजिक उत्तरदायित्वको खर्चकट्टी गर्ने सम्बन्धमा देखिएको समस्याका बारेमा पनि अर्थमन्त्रीसँग छलफल भएको सीएनआइले बताएको छ ।
अर्थतन्त्र चलायमान बनाइ थप रोजगारी सृजना गर्नका लागि स्वदेशी उत्पादनमा गौरव गर्नुपर्ने स्मरण पनि सीएनआइले गराएको छ ।
स्वदेशी उत्पादन प्रवद्र्धन गर्नका लागि “मेक इन नेपाल” को अवधारणा अघि बढाइएको अर्थमन्त्रीलाई अवगत गराएको छ । यसले स्वदेशी वस्तुको माग बढाउन मद्दत गर्ने सीएनआइको भनाई रहेको छ । सीएनआइका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले आत्मनिर्भर हुन सक्ने उद्योगहरुको सम्बन्धमा धारणा राखेका थिए ।
त्यसैगरी, परिसंघले अनुसन्धान सेलको स्थापना गरी अनुसन्धान काकार्यहरु अघि बढाएकाले आगामी दिनमा सरकारलाई आवश्यक पर्ने उद्योग व्यवसाय क्षेत्रका अद्यावधिक तथ्यांकहरु उपलब्ध गराउन सहज हुने बताए ।
अर्थमन्त्री डा। खतिवडाले हालको अवस्थामा उद्योगहरु सञ्चालनका सम्बन्धमा जिज्ञासा राखेका थिए । अर्थमन्त्रीबाट उद्योगी व्यवसायीहरुका माग धेरै हदसम्म सम्बोधन गरेको बताए । आगामी दिनमा पनि वास्तविक मागहरुलाई सम्बोधन गर्दै जाने बताए ।
हाल उद्योग सञ्चानलका लागि भारतबाट मात्र दक्ष जनशक्ति ल्याउन पाउने व्यवस्था भएकामा क्रमशः त्यसलाई सहजीकरण गर्दै अन्य देशहरुबाट समेत ल्याउन पाउने व्यवस्थाका लागि पहल गर्ने पनि बताए ।
छलफलमा परिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल, निर्वाणा चौधरी र कृष्णप्रसाद अधिकारीको उपस्थिति थियो ।


























