सगुनको आइपीओ गैरकानुनी हो, धितोपत्र बोर्डः
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सगुनको आइपीओ गैरकानुनी भएको बताएको छ । यस्तो आइपीओमा लगानी नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ ।
साथै, धितोपत्र बोर्डबाट अनुमति नपाएको सगुनलाई आइपीओ खुला भएको लगायतका विषयमा भ्रमित पार्ने गरी विज्ञापन तथा समाचार प्रकाशन तथा प्रकाशन नगर्न समेत निर्देशन दिएको छ ।
विदेशमा रहेको यस संस्थाले आइपीओको नाममा पटकपटक नेपाली नागरिकबाट पैसा असुलिरहेको छ । यो कार्य सरासर गैरकानुनी हो ।
पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूमा विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेसनले नेपाली लगानीकर्तालाई लक्षित गरी आइपीओ खुला भएको सूचना (विज्ञापन)(जारी गरिहेको धितोपत्र बोर्डले उल्लेख गरेको छ ।
यस्तो कार्य अवैधानिक भएको पनि बोर्डले ठहर गरेको छ । धितोपत्र सम्बन्धी ऐन अनुसार संगठित संस्थाहरूले नेपालमा धितोपत्र निष्कासन गर्नुअघि धितोपत्र बोर्डमा दर्ता गराउनुपर्ने हुन्छ । बोर्डबाट अनुमति पाएपछि मात्र बिक्री खुला गर्न पाइन्छ ।



























