आयोडिनयुक्त नुन नै किन सेवन गर्ने ?

काठमाडौं । नेपाल सरकारले आयोडिनको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रूपमा घोषणा गरेको छ ।
युनिभर्सल साल्ट आयोडाइजेशन (यूएसआई) को सदस्य राष्ट्रका हैसियतले नेपालमा सन् १९९८ देखि हरेक वर्ष फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रूपमा मनाउने गरिन्छ ।
नेपालमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आयोडिनयुक्त नुन आपूर्ति गरि नेपालभरि स्टक र बिक्री वितरण गर्दैै आएको छ । सरकारको निर्देशनअनुसार आयोडिनको कमीले हुने असरका बारे जनचेतना जगाउन कर्पोरेशनले विभिन्न कार्यक्रम सहित ‘आयोडिन मन्थ’ मनाउने गरेको पाइन्छ ।
मानव स्वास्थ्यमा आयोडिनको महत्त्व
मानिसको शारीरिक तथा मानसिक विकासका लागि विभिन्न किसिमका पोषणयुक्त तत्त्वहरूको आवश्यकता पर्दछ । तिनै तत्त्वहरूमध्ये आयोडिन पनि एक हो ।
आयोडिनले शारीरिक र मानसिक विकासमा सहयोग गर्नुका साथै रोगहरू लाग्नबाट पनि बचाउँछ । एक स्वस्थ व्यक्तिलाई दैनिक औसत १५० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने चिकित्सकहरू बताउँछन् ।
हाम्रो भान्छामा दैनिक नुनको प्रयोग हुँदै आएको छ । यसका लागि हामीले आयोडिन मिसाइएको नुन प्रयोग गर्नु आवश्यक हुन्छ । आयोडिनले थाइराइड ग्रन्थिलाई सुचारू रूपमा काम गर्न मद्दत गर्छ ।
गर्भावस्थादेखि दुई वर्षको उमेरसम्मको समयसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भैसकेको हुन्छ । यस अवस्थामा आयोडिनको कमी भएमा मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरू बताउँछन ।
नेपाल सरकारले आयोडिनयुक्त नुनलाई प्रमाणित गर्न ‘दुई बालबालिकाको चिह्न’ लागू गरेको छ । यो चिह्न भएको नुनमा सही मात्रामा आयोडिन प्रयोग गरिएको हुन्छ ।
यसले हाम्रो शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । ढिके वा खुल्ला नुनमा आयोडिनको मात्रा अपर्याप्त हुन्छ र यसले स्वास्थ्यलाई फाइदा पुर्याउँदैन एक चिकित्सकले बताए।
आयोडिनयुक्त नुनका फाइदाहरू के–कस्ता छन ?
गर्भावस्थामा गर्भवती महिलाले आयोडिनयुक्त नुन खाँदा गर्भमा रहेको बच्चाको शारीरिक र मानसिक विकासमा सकारात्मक असर पर्छ । यसले गर्भपात, मृत बच्चा जन्मने र बच्चा तुहिने जस्ता समस्याहरूबाट बचाउने गर्दछ ।
यसैगरि बाल्यावस्थामा बालबालिकाको दिमागीय र शारीरिक विकासमा आयोडिनले ठूलो भूमिका खेल्छ । यसले उनीहरूलाई फुर्तिलो, तन्दुरूस्त र बुद्धिमान बनाउन भूमिका खेल्छ ।
यसैगरी किशोरावस्थामा किशोर(किशोरीहरूको आईक्यू लेवल बढाउन आयोडिनयुक्त नुनले मद्दत गर्दछ । यसले उनीहरूको पढाइ र अन्य क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने गरेको चिकित्सकहरू बताउछन।
यसैगरि सबै उमेरमा आयोडिनयुक्त नुनले गलगाँड (कण्ठरोग), हाइपोथाइराइडिजम र अन्य स्वास्थ्य समस्याहरूबाट बचाउने कार्य गर्दछ ।
आयोडिनयुक्त नुन प्रयोग गर्दा सबैले ध्यान दिनुपर्ने कुराहरू
दुई बालबालिकाको चिह्न भएको नुन मात्र प्रयोग गरौं । नुनलाई घाम र पानीबाट जोगाऔं । तरकारी पाकिसकेपछि मात्र नुन राख्ने गरौं । नुन राखिसकेपछि तरकारीलाई ढाकेर राखौं ।