दिल्लीबाट काठमाडौंआएको विमानमा शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित

फाइल फोटो
काठमाडौं । भारतको विमान सेवा कम्पनी भिस्तारा एअरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।
विमानमा कुनै पनि शङ्कास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो ।
उहाँले विमानमा शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त घोषणा गरिएको बताउनुभयो ।
‘विमानको बाहिरी, भित्री र यात्रु तथा सबै सामान जाँच भयो । शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त पनि घोषणा गरिएको हो’, सूचना अधिकारी भूलले भन्नुभयो, ‘अहिले विमानस्थलको सबै उडान सामान्य अवस्थामा सञ्चालन भइरहेका छन् । ब्यागेज सम्बन्धित यात्रुलाई हस्तान्तरण गर्ने काम भइरहेको छ । विमानले नियमित उडानमा काठमाण्डौबाट यात्रु लिएर नयाँ दिल्ली उड्ने तयारीमा रहेको छ ।’
भारतको नयाँ दिल्लीबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दिउँसो साढे ४ बजे अवतरण गरेको भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले दिउँसो साढे ४ बजेदेखि बेलुकी ७ बजेसम्म विमानको जाँच गरेको थियो ।
थाहा नभएको मानिसको समूहले भिस्ताराको एअरबस ए ३२० विमानमा बम रहेको धम्कीपूर्ण सूचना आएपछि काठमाडौं विमानस्थलमा विमानलाई पार्किङ–वेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो ।
विमानका यात्रुलाई विशेषरूपमा शरीर खानतलासी गरेर उच्च निगरानीका साथ अध्यागमनबाट बाहिर पठाइएको थियो ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एअरको विमानमा बम राखेको हल्लापछि सेनाको विस्फोटक पदार्थ निष्क्रय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो ।
विमानमा रहेका एक सय ५७ जना यात्रुलाई खानतलासी गर्दा कुनै शङ्कास्पद वस्तु फेला नपरेको उहाँले बताउनुभयो । बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान गरिएको हो ।