पास बिना सवारी साधन संचालन गर्ने तथा तोकिए भन्दा बढी भाडा लिई यात्रु ओसार पसार गर्ने पक्राउ

काठमाडौं । सवारी पास विना लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गर्ने तथा तोकिए भन्दा बढी भाडा लिई यात्रु ओसार पसार गर्ने तीन जना सवारी चालकहरूलाई आइतबार महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४५८० नम्बरको हाईस गाडीका चालक बाँके नेपालगंज उपमहानगरपालिका-६ घर भएका २६ वर्षीय राहुल डबगर, झापाबाट काठमाडौं आउँदै गरेको ना.५ ख ५८३४ नम्बरको यात्रुवाहक बसका चालक सुनसरी पानमरा नगरपालिका-२२ घर भएका ४० वर्षीय राकेश शाक्य र नेपालगंजबाट काठमाडौतर्फ आएको ना.७ ख ७३९५ नम्बरको यात्रुवाहक बसका चालक बाँके खजुरा गाउँपालिका-२ बस्ने ३४ वर्षीय रुद्र बहादुर खत्री पक्राउ पर्नेहरुमा रहेका छन् ।
ती चालकहरुलाई एक जिल्लाबाट अर्को जिल्ला जान सम्बन्धित निकायबाट जारी गरेको पास तथा निजहरुको सवारी गाडीमा सवार अन्य व्यक्तिहरुको कोरोना भाईरस पहिचान हुने पिसिआर रिपोर्ट माग्दा प्रहरीले माग गरे बमोजिमको कुनै कागजात नभएकोले ३ वटै सवारी साधनको चालकहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक सोधपुछको क्रममा राहुल डबगरले प्रति यात्रु २ हजार भाडा लिई ७ जना यात्रीबाट १४ हजार रकम लिएको तथा एक जना यात्रीलाई चितवनबाट चढाई ८ सय भाडा लिएको, राकेश शाक्यले १९ जना यात्रु बोकी आएकोमा प्रति यात्रु २ हजारको दरले ३८ हजार लिएको तथा रुद्र बहादुर खत्रीले १५ जना यात्रु बोकी आएकोमा प्रति यात्रु २ हजारको दरले ३० हजार भाडा लिई यात्रु ओसारपसार गरेको खुल्न आएको हो ।
उक्त सवारी साधनमा सवार ४२ जना यात्रुहरूलाई कीर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनको लागि पठाउनुका साथै ३ वटै सवारी साधनको चालकहरूलाई सवारी साधन, बरामद रकम सहित संक्रमण रोग ऐन, २०२० अन्तर्गत आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
साथै सोही कार्यालयबाट खटिएको प्रहरीले बिहीबार ६ जना यात्रु बोकी नेपालगंजबाट थानकोटतर्फ आउँदै गरेको बा.४ ख ७३७३ नम्बरको हाईसका चालक बाँके नेपालगंज उपमहानगरपालिका-४ घर भएका ३३ वर्षीय विकाश शर्माले पक्राउ गरी संक्रमण रोग ऐन २०२० अन्तर्गत कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाएको थियो ।