नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।
अध्यक्ष पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षैत्रमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ। योग्यता पुग्ने, ३० वर्ष उमेर पूरा भइ ६५ वर्ष नपुगेको नेपाली नागरिकले आवेदन दिन सक्ने मन्त्रालयले उल्लेख गरेको छ।
योग्यता पुगेको इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सहित बढीमा ५ हजार शब्दको व्यावसायिक कार्ययोजनासहित आवेदन दिन माग गरिएको छ।
तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि दूरसञ्चार प्राधिकरणको अध्यक्ष पद रिक्त छ। प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिद–बिक्रीको विवाद चलिरहेको समयमा अध्यक्ष खनालले राजीनामा दिएका थिए।
सरकारले खनालको राजीनामा स्वीकृत गर्दै प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक अध्यक्ष तोकेको थियो।



























