stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने तयारी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनको लागि निर्वाचन अधिकृतको नियुक्ति र सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ।

यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन लागि निर्वाचन कार्यतालिकाअनुरूप आयोगले सो तयारी गरिरहेको हो। आयोगका अनुसार आगामी पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति गर्ने र सोही दिन सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ।

त्यसपछि पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गराउने गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो। राष्ट्रियसभाको निर्वाचनको लागि सातवटै प्रदेशमा एकएक वटा मतदान स्थल र दुई(दुई वटा मतदान केन्द्र गरी सात मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, वागमती प्रदेशका लागि श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय, ब्लक, प्राविधिक भवन, हेटौंडा र मकवानपुरमा मतदान केन्द्र राखिएको छ।

त्यसै गरी गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की र लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको आयोगले जनाएको छ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन् मतदान केन्द्रको विवरण आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ।

त्यसै गरी निर्वाचन प्रयोजनको लागि १२ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। गत वर्ष भएको संसदीय निर्वाचनमा समानुपातिकतर्फ पाएको मतको आधारमा आयोगमा दर्ता भएका दलहरूको क्रम निर्धारण गरिएको छ।

सबैभन्दा अगाडि नेपाल कम्युनिस्ट पार्टी (एमाले), त्यसपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल र नेपाल समाजवादी पार्टी रहेका छन्। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

kumari bank
kumari
nawakantipur long