आज बत्तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने गरिन्छ ।
यो वर्षको अपाङ्गता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ रहेको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय नाराले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र दिगो विकासका लागि २०३० एजेन्डाद्वारा अपाङ्गता भएका व्यक्तिका लागि सबै मानवअधिकारको पूर्ति गर्ने राष्ट्रसङ्घको प्रतिबद्धतालाई बलियो बनाएको छ ।
यो ऐक्यबद्धता र प्रतिबद्धतालाई आत्मसात् गर्दै संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको विषयलाई विशेष व्यवस्थासहित अघि बढाउनुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरुको भनाइ छ ।