चन्द्रविनायक तथा भैरवनाथ जात्रा सकियो
काठमाडौं । चन्द्रविनायक तथा भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ ।
कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन आज सकिएको हो ।
जात्रा करिब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुवात् गराएको स्थानीयवासीको भनाइ छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा चावहिल क्षेत्रमा आज सिन्दूर जात्रा गरिएको छ ।
जात्रा कार्तिक शुक्ल पूर्णिमाका दिनदेखि चावहिल क्षेत्रमा सुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ ।
जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो ।
चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मूल मन्दिर पनि घुमाइएको थियो ।
पशुपतिनाथ अमालकोट कचहरीका द्वारेले कार्तिक शुक्ल पूर्णिमाका दिन बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।
यसैगरी मार्गशीर्ष कृष्ण प्रतिपदाका दिन श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गंगाहिटीमा लगेर स्नान गराउने विधि छ । स्नानपछि दुवै खटलाई बेलुकी चारुमती बिहारमा लगेर बिसाइएको थियो ।
मार्ग शीर्ष कृष्ण द्वितीयाका दिन दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराइयो । दर्शनपछि पशुपतिनाथबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा व्यवस्थापन समिति सदस्य राजु भारतीले जानकारी दिए ।