ट्रमा सेन्टरमा आउनेमध्ये ८० प्रतिशत बिरामीको ‘अप्रेशन’ गर्नुपर्ने
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउनेमध्ये ८० प्रतिशत बिरामीको अप्रेशन हुने गरेको छ ।
ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले अस्पतालमा दैनिक झन्डै पाँच सय जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेशन गर्नुपर्ने जानकारी दिनुभयो ।
अहिले अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेशन हुँदै आएको छ । डा. रिजालले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन जनशक्ति अभाव भएको गुनासो गर्नुभयो । दरबन्दी पर्याप्त नहुँदा एक जना चिकित्सकले तीनदेखि चार जना बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुने गरी व्यवस्थापन गरिएको डा। रिजालले जानकारी दिनुभयो । उहाँले अहिले अस्पतालबाट अनलाइन टिकट लिने व्यवस्था मिलाइएको र बिहान ८ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको बताउनुभयो ।
ट्रमा सेन्टरका निर्देशक डा. रिजाल
उहाँले भन्नुभयो, ‘अस्पतालमा दैनिक चार सय ५० देखि पाँच सय जनाको हाराहारीमा बिरामी आउँछन् । अस्पतालमा आउनेमध्ये ८० प्रतिशत बिरामीको अप्रेशन गर्नुपर्ने हुन्छ । दिनमा २५ देखि ३० जनाको अप्रेशन हुन्छ ।
अहिले लगभग सबैजसो औषधि उपलब्ध हुने गरी व्यवस्थापन गरिएको छ । बिरामीको चाप बढेका कारण अहिले दुई सय १८ शय्या सञ्चालन गरिरहेका छौँ ।
सरकारी दरबन्दीले नपुगेर आन्तरिक स्रोतबाट कर्मचारी राखेर काम गर्नुपरेको छ । अहिले हामी छ सय जना कर्मचारी छौँ । तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी छ भने अरू आन्तरिक स्रोतबाट हो । जनशक्ति बढाउनका लागि स्वास्थ्य मन्त्रालयसँग कुरा गरिरहेका छौँ । मन्त्रालय यसमा सकारात्मक नै छ ।’
डा।रिजालले ट्रमाका लागि अति आवश्यक मानिएको’रिहाब सेन्टर’ सरकारी रूपबाट नहुँदा बिरामी मर्कामा परेका बताउनुभयो । उहाँले’रिहाब सेन्टर’ सरकारी रूपमा नहुँदा बिरामीलाई निजीमा पठाउन बाध्य भएको भन्दै त्यसका लागि ‘लबिङ’ गरिरहेको बताउनुभयो ।
उहाँले ट्रमा सेन्टरमा एमआरआई मेशिन नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने र महँगो शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
बिरामीलाई छिटो छरितो सेवा प्रवाह गर्नेतर्फ अस्पताल तल्लिन रहेको निर्देशक डा. रिजालले उल्लेख गर्नुभयो । कुनै पनि बिरामी उपचार पाएर दुई हप्ताभित्र जसरी पनि फर्किने गरेको उहाँको भनाइ छ ।