नेपालमा अझै बढी संक्रमित देखिन सक्छन् : डब्लूएचओ

आर्थिक सञ्जाल
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा संक्रमित निकै बढ्न सक्ने बताएको छ । डब्लुएचओका नेपालस्थित प्रतिनिधि जस भ्यान्डेलरले संक्रमित निकै बढ्न सक्ने बताएका हुन् ।
भ्यान्डेलरले संक्रमितको संख्या कति पुग्न सक्छ भन्ने अनुमान गर्न नसक्ने उल्लेख गर्दै लकडाउनलाई निरन्तरता दिए पनि वा खुकुलो बनाए पनि संक्रमित बढिरहने बताए ।
नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख भलेरी जुलियान्ड सहित बुधबार सञ्चारकर्मीहरुसँगको भिडियो अन्तरक्रियामा भ्यान्डेलरले थपे, ‘यसका लागि मुख्य कुरा मास्क लगाउने, हात धुने र सामाजिक दुरी राख्ने कुरा नै महत्वपूर्ण हो । अब हामीले नयाँ तरिकाले बाँच्न सिक्नुपर्छ ।’
अहिलेको संकटको बेलामा नेपालमात्र होइन, नेपालभन्दा ३० गुणा बढी आम्दानी गर्ने मुलुकमा पनि उस्तै समस्या रहेको भ्यान्डेलरको भनाइ थियो । लामो समय लकडाउन हुँदा अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकोले अब स्वास्थ्य सुरक्षा र जनताको आर्थिक सुरक्षा दुवैलाई सँगसँगै लैजान सरकारलाई चुनौती रहेको उनले बताए ।
नेपालमा परीक्षण क्षमता र दायरा बढाउन पनि उनले सुझाव दिएका छन् । उनले भने –‘त्यसका लागि मेसिन र किट किन्नेमात्र होइन, त्यसका लागि आवश्यक प्राविधिक मानवसाधन पनि आवश्यक हुन्छ ।
प्राविधिक ज्ञानबिना परीक्षणलाई अघि बढाउन सकिन्न ।’ अन्य मुलुकमा जस्तै कोरोना भाइरसको संक्रमण नेपालमा समुदायभित्र फैलिनसकेको उनले बताए । नेपालमा अहिलेसम्म १५ जना मृत्यु भएको छ भने ४ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसको भ्याक्सिन निर्माणको सवालमा डब्लूएचओको सहकार्यमा काम गर्नुपर्ने उनले बताए । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख जुलियान्डले कोभिड–१९ ले स्वास्थ्य क्षेत्रमा मात्र नभएर सम्पूर्ण सामाजिक–आर्थिक क्षेत्रलाई असर पारेको बताइन् ।