कोरोना जितेर १८ जना फर्किए घर
आर्थिक सञ्जाल
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना रोग जितेर घर फर्किएका छन् । कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना संक्रमण भएको थियो । उनीहरुको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ घर पठाएको प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मंगल रावलले बताए ।
प्रतिष्ठानका चिकित्सक धिरज गुरुङले कोरोना जितेर घर फर्कँदै गरेका नागरिकलाई ३ साता होम क्वारेन्टाइनमा बस्न सुझाए । उनले भने “घरमा सामाजिक दूरी कायम गर्नु, चुरोट र रक्सीबाहेक अरु खानेकुरा बार्न पर्दैन । आफू सचेत हुन आवश्यक छ ।” प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कोरोना भाइरसलाई जितेर घर फर्कँदै गरेका नागरिकलाई धन्यवाद व्यक्त गरे । रासस



























