कोराना संक्रमितको उपत्यकाका सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु

आर्थिक सञ्जाल
काठमाडौं । कोरोना (कोभिड–१९) सङ्क्रमण उपत्यकामा पाँच जनालाई देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ । काठमाडौँमा चार र भक्तपुरमा एक गरी उपत्यकामा शनिबार पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
काठमाडौँका सङ्क्रमितमध्ये दुई पुरुष र दुई महिला छन् भने भक्तपुरमा एक पुरुषमा कोरोना देखिएको छ ।
काठमाडौँ महानगरपालिकाले सङ्क्रमितको‘ट्रेसिङ’ गर्ने कार्य भइरहेको जनाएको छ । एक सातायता काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित देखिएका थिएनन् ।
शनिबार देखिएका सङ्क्रमित उपत्यका बाहिरबाट नै आएको हुन सक्ने अनुमान महानगरपालिकाको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बस्ने वडा, टोल, व्यक्तिगत सम्पर्कमा आएका व्यक्ति र आफन्तको विवरण लिने कार्य भइरहेको जानकारी दिनुुभयो । सङ्क्रमित एक जना महिला भारतबाट आएको बताइएको छ ।
उहाँ टोखा–मनमैजु क्षेत्रमा बस्ने भएकाले ट्रेसिङ कार्य भइरहेको तारकेश्वर नगरपालिकाले जनाएको छ । त्यस्तै भक्तपुरका सङ्क्रमित पुरुष सूर्यविनायकको भएको बताइएको छ । उहाँहरू सबैलाई उपत्यकाको विभिन्न कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ ।
काठमाडौँमा २३, भक्तपुरमा ५ र ललितपुरमा ३ गरी हालसम्म उपत्यकामा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।