ब्रोकर कमिसन घटाउने तयारीमा धितोपत्र बोर्ड

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिसन घटाउने तयारी गरेको छ । यसका लागि बोर्डले गठन गरेको समितिले प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा ब्रोकरलाई समस्यामा पारेर कमिसन घटाउने निर्णय नगर्ने पनि उनले प्रस्ट्याए ।
‘ब्रोकरको कमिसन घटाउने प्रस्ताव सञ्चालक समितिमा लैजाँदा धितोपत्र बोर्डको कमिसन पनि घटाउने प्रस्ताव सँगै जान्छ,’ उनले भने, ‘ब्रोकर सस्टेन नहुने गरी कमिसन घटाउने पक्षमा छैनौं । ब्रोकर कमिसन घटाउँदा सँगै ब्रोकरलाई सुविधा थप गर्ने प्रस्ताव पनि लैजान्छौं ।’
अध्यक्ष हमालले ब्रोकरको सुविधा थप्ने बताए पनि त्यो सुविधा के हुने भनेर खुलाएनन् । तर सीमित कार्य गर्ने र ब्रोकरलाई पनि मार्जिन ट्रेडिङ, पोर्टफोलियो मानेजमेन्टलगायत सुविधा थप्ने विषयमा बोर्डले छलफल गरिरहेको उनको भनाइ छ ।
हकप्रद सेयरबारे पनि नयाँ नियम ल्याइने हमालले जनाए । सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधिमा पनि चाँडै ब्रेक थ्रु हुने उनको भनाइ छ । सार्वजनिक निष्कासनमा १० कित्ते नीतिमा पनि केही पुनरवलोकन गर्ने उनले संकेत गरे ।
१० कित्ते नीतिले गर्दा धितोपत्र बजारको विस्तार भएको, यसलाई अवसरका रूपमा लिनुपर्ने र त्यसमा रहेको केही कमजोर पक्ष सुधार गर्ने पक्षमा सेबोन रहेको हमालले बताए ।
‘बोर्डले समग्र बजार र अवस्थाका विश्लेषण र अध्ययन गरेर सुझबुझपूर्ण निर्णय गर्छ,’ उनले भने, ‘१० कित्ते नीति पुनरवलोकन गर्नुपर्नेछ । त्यसबारे अध्ययन गर्नेछौं ।’
मार्जिङ ट्रेडिङ सम्बन्धी नीति ल्याउने तयारी अन्तिम चरणमा पुगेको हमालको भनाइ छ । बोर्डले हाइड्रोपावर तथा वास्तविक क्षेत्रका कम्पनीमा स्वतन्त्र सञ्चालकहरूको छुट्टै योग्यता तोक्ने पनि उनले जानकारी दिए ।
३० भदौ २०८०, शनिवार ०७:४५ बजे प्रकाशित