विद्युतीय गाडीमा बढ्दो आकर्षण
काठमाडौँ । भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो सो’ मा विद्युतीय गाडीप्रति आकर्षण बढेको छ । प्रदर्शनीमा राखिएका गाडीहरूमध्ये पेट्रोल र डिजेलबाट चल्नेभन्दा विद्युतीय गाडीको सङ्ख्या धेरै छ ।
बुकिङ गर्नेहरूले पनि विद्युतीय गाडी नै धेरै रोजेका छन् । १४ देखि ३० लाख रुपियाँसम्मका विद्युतीय कारमा उपभोक्ताको आकर्षण देखिएको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
प्रदर्शनीमा १३ लाख रुपियाँको सेरेस ब्रान्डको विद्युतीय कारको बुकिङ बढी भएको छ । प्रदर्शनीको तीन दिनमै १८८ वटा सेरेस इभी बुकिङ भइसकेको छ ।
बिवाईडी, एमजी, नेटा, वुलिङलगायत ब्रान्डले विद्युतीय सवारी मात्रै प्रदर्शनीमा राखेका छन् । कतिपय ब्रान्डले पेट्रोलियम गाडीलाई भन्दा विद्युतीयलाई नै प्राथमिकता दिएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापाले विद्युतीय गाडीको माग धेरै भएको बताउनुभयो ।
उपोभोक्तामा विद्युतीय गाडीप्रति आकर्षण बढेको बताउँदै उहाँले भन्नुभयो, “माग र चासो बढेकाले विद्युतीय गाडीहरू नै नाडामा बढी छन् । उपभोक्ताको पनि विद्युतीय सवारीमै चासो बढी छ । कारोबारका हिसाबले विद्युतीय र इन्धनको आधाआधी छ ।
पहिला विद्युतीय गाडीको यसरी माग थिएन ।” एसोसिएसनका अनुसार प्रदर्शनीमा करिब ६० प्रतिशत स्टल विद्युतीय गाडीका छन् ।
अध्यक्ष थापाले भन्नुभयो, “विद्युतीय कार चढ्ने विश्वव्यापी ट्रेन्ड नेपालमा पनि बढेको देखिन्छ । विद्युत्को उपयोगसँगै सञ्चालन तथा मर्मत खर्च कम र वातावरणमैत्री भएकाले विद्युतीय सवारीसाधनको माग बढेको छ ।”
सरकारले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गरिरहेको उहाँको भनाइ छ । प्रदर्शनीमा एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नेपाली बजारमा ल्याएको सेरेस कार सस्तो मानिएको छ । चार वटा भेरियन्टमध्ये तीन वटा कारको मूल्य १३ लाखदेखि १८ लाख रुपियाँसम्म पर्छ । चार सिटको सेरेस मिनी इभीको मूल्य १३ लाख ९९ हजार रुपियाँ तोकिएको छ । चार सिटको सेरेस मिड इभी कारको मूल्य १६ लाख ४९ हजार रुपियाँ छ । सेरेस टप इभीको मूल्य भने १७ लाख ९९ हजार रुपियाँ छ ।
टाटा मोटर्सले प्यासेन्जर सेग्मेन्टमा तीन वटा गाडी ल्याएको छ । टियागो इभीको मूल्य २१ लाख ९९ हजार रुपियाँ छ ।
टियागो इभी एमआर (मेडियम रेन्ज) एक्सटीको मूल्य २२ लाख ९९ हजार छ । टियागो इभी लङ रेन्ज (एलआर) एक्सटीको मूल्य भने २५ लाख ४९ हजार रुपियाँ छ ।
टियागो इभी एलआर एक्स जेड प्लसको मूल्य २६ लाख ९९ हजार र टियागो इभी एलआर एक्स जेड प्लस लक्जरीको मूल्य २७ लाख ९९ हजार रुपियाँ रहेको छ ।
पिटी एसजिएमडब्लु मोटर्स इन्डोनेसियाले उत्पादन गरेको विलिङ एयर इभीको मूल्य २० लाख ९९ हजार रुपियाँ छ ।
पारामाउन्ट मोटर्स प्रालिले १८ लाख र २१ लाख रुपियाँका दुई वटा कार प्रदर्शनीमा राखेको छ । एमजी कोमेट इभी पिसको मूल्य १७ लाख ९९ हजार रुपियाँ रहेको छ । एमजी कोमेट इभी प्ले काको मूल्य २० लाख ९९ हजार रुपियाँ छ ।
प्रदर्शनी भदौ ३१ सम्म सञ्चालन हुने छ । प्रदर्शनीको चौथो दिनसम्म ३७ हजारले अवलोकन गरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।