डब्ल्युएचओको चासो नेपालमा बनेको कोरोना खोपबारे

आर्थिक सञ्जाल
काठमाडौं । हेटौँडा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौँडास्थित त्रिवि, वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोना विरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ ।
अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोना विरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो ।
जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्स मार्फत नेपाल सहित ७३ राष्ट्रका विज्ञसँग कोरोना विरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा. डा. दासले जानकारी दिए । यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाइएको थियो ।
अध्ययन संस्थानका प्रा. दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा. दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ ।
करिब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोधिनाका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्रा गैरेले जानकारी दिए ।
“सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भयो”, प्रा गैरेले भने ।
उक्त खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फन्ड प्राप्त हुने बताइएको छ । प्रा. डा. दासले दुई महिनादेखि कोरोना भाइरस विरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडीबुटी लिएर शोध गरी उक्त खोप (औषधि)
निर्माण गरेको जिकिर गरेका छन् ।