सुनको भाउ इतिहासकै उच्च विन्दुमा पुगेर स्थिर
काठमाडौं । सुनको भाउ इतिहासकै उच्च विन्दुमा पुगेर स्थिर भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार (चैत १८ गते) आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम रहेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ रहेको छ । यसअघि शुक्रबार चैत १६ गते सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको हो ।
पछिल्लो समय सुनको भाउ बढ्नुमा अमेरिकी डलरको मजबुतीलाई पनि कारण मानिएको छ । डलर बलियो भएसँगै विश्व बजारमा सुनको भाउ समेत उकालो लागेको विश्लेषकहरुले बताइरहेका छन् ।
यस्तै, अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै पनि विश्व बजारमा सुनको मूल्य थप चुलिएको हो । ब्याजदर कटौतीपछि निक्षेपकर्ताहरुसमेत सुनमा धेरै फाइदा हुने अनुमान गरिरहेका छन् ।
अर्थतन्त्रका अन्य क्षेत्र शिथिल हुँदा पनि लगानीकर्ता सुनतर्फ आकर्षित हुने गरेको पाइएको छ । यता, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १५ सय २५ रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २३२.७५ डलर र चाँदी प्रतिऔंस २४.९५ डलरमा कारोबार भइरहेको छ ।