macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्दै नेपाली डाइपर

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

भैरहवा । काठमाडौँ नयाँ बानेश्वरका शत्रुधन ढकालले भैरहवा–परासी औद्योगिक कोरिडोरमा स्थापना गरेको डाइपर उद्योगले नेपाली र अन्तर्राष्ट्रिय बजारको माग धान्न सकेको छैन ।

काठमाडौँमा उद्योगलाई चाहिने पर्याप्त जग्गा एकै ठाउँमा नपाएपछि उहाँले भैरहवा–परासी औद्योगिक कोरिडोरमा पर्ने नवलपरासीपश्चिमको रामग्राममा उद्योग स्थापना गर्नुभएको थियो । दुई वर्षअघि स्थापना भएको यो उद्योगले अहिले स्वदेशी र अन्तर्राष्ट्रिय बजारको माग धान्न नसक्ने अवस्थामा आइपुगेको हो ।

बेलहिया नाका नजिक, पूर्व–पश्चिम हुलाकी राजमार्ग नजिकै भएकाले सञ्चालनमा सहज हुने ठानेर रामग्राम नगरपालिका–१५, सुक्रौलीमा साढे दुई बिघा जग्गा पाइएपछि उहाँले करिब एक अर्ब लगानीमा डाइपर उद्योगका लागि व्रजेश्वरी इन्डस्ट्रिज सञ्चालनमा ल्याउनुभएको थियो ।

यो उद्योग बेबी डाइपर र वेट वाइप्स उत्पादन गर्ने नेपालका चार वटा उद्योगमध्ये सबैभन्दा ठुलो हो । उद्योगले १२५ जनालाई रोजगारी दिएको छ ।

ढकालले आफ्नो उद्योगमा अन्तर्राष्ट्रिय मापदण्डमा गुणस्तरीय डाइपर उत्पादनमा कुनै सम्झौता नगरेको बताउनुभयो । यो उद्योगले जापान र अमेरिकी प्रविधिका मेसिनबाट डाइपर उत्पादन गरिरहेको छ ।

सञ्चालक ढकालका अनुसार उद्योगले नेपालका लागि न्यानो र टेन्डरटच ब्रान्डको डाइपर र वेट वाइप्स उत्पादन गर्दै आएको छ भने भारतीय कम्पनीहरू भेल्निक, एचएमएच, युरो इन्डिया तथा केएफ इन्टरनेसनलका लागि पनि उत्पादन गर्ने गरेको छ ।

“हाम्रा उत्पादनले छोटो समयमै विदेशी उपभोक्ताको मन जितेर निर्यात हुन थालेका छन्,” ढकालले भन्नुभयो, “प्रयोगशालामा गुणस्तर जाँचेर मात्रै उत्पादन प्रक्रियामा जाने भएकाले विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न सफल भएका छौँ, उत्पादन सुरु गरेको सात महिनामै भारतका विभिन्न सहरमा राम्रो बजार हामीले पायौँ ।” उहाँले आगामी मार्चसम्मका लागि डाइपर र वाइप्सको अर्डर आइसकेको र त्यसभन्दायता थप माग पूर्ति गर्न नसक्ने बताउनुभयो ।

उद्योगका सञ्चालक ढकालले उद्योगले एक वर्षको अवधिमा १६ करोड रुपियाँको डाइपर र वाइप्स भारत निर्यात गर्न सफल भएको बताउनुभयो ।

उद्योगले आफ्नो उत्पादनको करिब ५० प्रतिशत र नेपालमा रहेका चार वटा डाइपर उद्योगले गर्ने कुल निर्यातको ६० प्रतिशत हिस्सा निर्यात गरेको छ । ढकालका अनुसार अबको दुई वर्षभित्र वार्षिक एक अर्ब रुपियाँको डाइपर निर्यात गर्ने उद्योगको लक्ष्य छ ।

उद्योगले एक वर्षमा ४३ करोड मूल्य बराबरको डाइपर उत्पादन गरेको छ । यो उद्योगमा दैनिक छ लाख गोटा र प्रतिवर्ष २४ करोड गोटा डाइपर उत्पादन क्षमता भए पनि हाल दैनिक चार लाख गोटा मात्रै उत्पादन गरिरहेको छ ।

ढकालले उद्योग पूर्ण क्षमतामा सञ्चालन भएमा नेपालको कुल मागको ५० प्रतिशतसम्म थेग्न सक्ने बताउनुभयो । नेपाली बजारका लागि प्रतिवर्ष ४८ करोड गोटा डाइपर आवश्यक पर्छ ।

सञ्चालक ढकालले हाल नेपालका सातै प्रदेशमा एक सय डिलरमार्फत उद्योगका उत्पादन बिक्री हुँदै आएको र अब भारतसँगै अमेरिका, अफ्रिका तथा युरोपमा समेत निर्यात गर्न आइएसओ प्रमाणपत्र प्राप्त गरिसकेको बताउनुभयो ।

हाल नेपालमा व्रजेश्वरीबाहेक विराटनगरमा दुई वटा तथा रुपन्देहीको तिलोत्तमामा एउटा गरी चार वटा डाइपर उद्योग छन् ।

१२ कात्तिक २०८०, आइतवार ०७:५३ बजे प्रकाशित

NTA long ad