वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी
काठमाडौँ । विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथ निर्माण, सरसफाइ तथा आवश्यक तयारीका काम भइरहेका छन् ।
दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ ।
‘‘इन्द्रजात्रालाई सव्य र भव्य तरिकाले सञ्चालनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँग ३१ गुठी खलः आबद्ध छन् । उनीहरूसँग हामीले पटक–पटक बैठक बसिसकेका छौँ ।
शान्ति सुरक्षाका लागि नेपाल प्रहरी निकायसँग छलफल गरिसकेका छौँ’’, अध्यक्ष शाक्यले भन्नुभयो, ‘‘इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले जात्रा हेर्ने अन्तरराष्ट्रिय पर्यटक धेरै हुनुहुन्छ ।
उहाँहरूको लागि व्यवस्थापन गरेका छौँ । इन्द्रजात्राका लागि आवश्यक पर्ने तयारी अहिले तीव्र गतिका अघि बढाइरहेका छौँ ।’’
विशेष गरेर नेवार समुदायमा विशेष महत्त्व राख्ने इन्द्रजात्रा काठमाडौँ उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा परम्परागत रूपमा मनाइन्छ । जात्राका क्रममा हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने गरिन्छ ।
लिङ्गो ठड्याउने धार्मिक विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ भने लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ ।
शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरिएको धार्मिक तथा सांस्कृतिक मान्यता छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा इन्द्रजात्राको विशेष महत्त्व रहेको छ ।
इन्द्रजात्राको अवसरमा हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा पुजिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहिआएको अध्यक्ष शाक्यले बताउनुभयो ।
इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा विभिन्न परम्परागत नाच प्रस्तुत गरिन्छ । भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक मानिने पुलुकिसी नाच इन्द्रजात्राका प्रमुख आकर्षण रहेका अध्यक्ष शाक्यले बताउनुभयो ।
लिङ्गो ठड्याइएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्राको विधिवत् समापन गरिने परम्परा रहेको उहाँको भनाइ छ ।





















