बैठकको प्रारम्भमा बोर्डका कार्यकारी निर्देशक सुरेन्द्र सुवेदीले मन्त्री चाैधरी, बोर्डका उपाध्यक्ष, पदाधिकारी तथा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै बोर्डको वर्तमान अवस्था, कार्यसम्पादन तथा भावी योजनासम्बन्धी संक्षिप्त प्रस्तुतीकरण गरिएकाे थियाे।
त्यसैगरी, बोर्डका उपाध्यक्ष आदित्य पराजुलीले नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।
सो अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्री तथा बोर्ड अध्यक्ष गिता चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी तथा किसानमैत्री बनाउने दिशामा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै आवश्यक निर्देशन दिएकी थिइन।
छलफलका क्रममा चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनर्संरचनाको मोडालिटीलाई अन्तिम रूप दिई दुई हप्ताभित्र प्रतिवेदन पेश गर्ने गरी बोर्डका उपाध्यक्षको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरिएको छ।
उक्त कार्यदलले बोर्डको पुनर्संरचनासम्बन्धी विस्तृत अध्ययन, सुझाव तथा कार्ययोजना तयार गरी तोकिएको समयसीमाभित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्नेछ। बैठकमा चिया तथा कफी क्षेत्रको दिगो विकास, किसानको आय अभिवृद्धि, उत्पादनको गुणस्तर सुधार, मूल्य अभिवृद्धि, निर्यात प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका विषयमा समेत विस्तृत छलफल भएको थियो।
मन्त्रालयले यस क्षेत्रको समग्र विकासका लागि आवश्यक नीतिगत सुधार तथा प्रभावकारी कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।




















