धिताेपत्र बोर्डद्वारा प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२ सम्बन्धमा अभिमुखीकरण तथा अन्तरक्रिया
ललितपुर। सार्वजनिक निष्काशनका क्रममा संगठित संस्थाहरूको वित्तीय विवरणहरूको गुणस्तर, विश्वसनीयता तथा वित्तीय सुशासन अभिवृद्धि गरी प्रारम्भिक सार्वजनिक निष्काशन प्रक्रियालाई थप, उत्तरदायी बनाउने उद्देश्यले मिति २०८३ वैशाख ०१ गतेदेखि लागू गरिएको ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धमा मर्चेन्ट बैंकर संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ अधिकारीहरूलाई लक्षित अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम साउन १४ गते नेपाल धिताेपत्र बोर्डको कार्यालय खुमलटार,ललितपुरमा सम्पन्न भएको छ।
कार्यक्रममा बोर्डका अध्यक्ष तथा बोर्डका पदाधिकारी र मर्चेन्ट बैंकर संस्थाका उच्च पदस्थ अधिकारी सहित करिब ६५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा सम्बधोन गर्दै बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको प्राथमिक पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीकर्तामैत्री बनाउन बोर्डले आवश्यक नीतिगत तथा नियामकीय सुधारलाई निरन्तर अघि बढाइरहेको धारणा राखेका थिए।
साथै बोर्डले सार्वजनिक निष्काशन प्रक्रियामा सुधार गर्नुपर्ने विषयहरूलाई समेट्दै प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र (Primary Market White Paper) समेत सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन।
उक्त श्वेतपत्रले सार्वजनिक निष्काशन प्रक्रियालाई थप व्यवस्थित बनाइ लगानीकर्ता हित संरक्षण, सुशासन प्रवर्द्धन तथा पूँजी बजारप्रति जनविश्वास अभिवृद्धि गर्दै प्राथमिक बजारको गुणस्तरीय रूपान्तरण (Qualitative Transformation) बोर्डको प्रमुख प्राथमिकता रहेको उल्लेख गरेका छन।
साथै उहाँले धितोपत्रको प्राथमिक बजारमा मर्चेन्ट बैंकरहरुको अहम भूमिका हुने हुनाले यी संस्थाहरु बजार प्रति जिम्मवारभई लगानीकर्ताको हकहित संरक्षण गर्ने कार्य प्रति अग्रसर हुनपर्ने बताएका छन । यसैगरी उनले सार्वजनिक निष्काशन गर्ने कम्पनीहरूको वित्तीय स्वास्थ्य (Financial Health) तथा संस्थागत सुशासन (Corporate Governance) थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन।
कार्यक्रममा बोर्ड सदस्य तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) का अध्यक्ष आनन्दराज शर्मा वाग्लेले उक्त मापदण्डमा भएका व्यवस्था सम्बन्धमा विस्तृत प्रस्तुति दिदैं उक्त मापदण्ड जारी गर्नुको उद्देश्य, यसको कार्यान्वयन प्रक्रिया तथा सार्वजनिक निष्काशन प्रक्रियामा यसको उपयोगिताबारे जानकारी गराएका थिए ।
प्रस्तुतिका क्रममा उनले सार्वजनिक निष्काशनका लागि पेश गरिने वित्तीय विवरणहरूको गुणस्तर, विश्वसनीयता तथा वित्तीय सुशासन अभिवृद्धि गर्न उक्त मापदण्ड महत्वपूर्ण आधार हुने उल्लेख गर्दै कार्यक्रममा उठेका जिज्ञासाको जवाफ बोर्ड सदस्यले दिएका थिए।




















